पारा एसियन गेम

पदक लक्ष्यमा होमिँदै पलेशा र सिर्जना

कोभिड–१९ को संक्रमण दर बढेसँगै चीनमा सेप्टेम्बर १० देखि २५ सम्म तय १९ औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भइसकेको छ । अक्टोबरमा हुने पारा एसियाली खेलकुद सर्ने वा निर्धारित समयमा नै आयोजना हुनेबारे अहिले केही निर्णय भएको छैन ।

कोभिड–१९ महामारीकै कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछि धकेलिँदा पारा ओलम्पिक पनि त्यति नै अवधि पछाडि धकेलिएको थियो । त्यसैले एसियाली खेलकुद स्थगित भएसँगै यसपालि पनि पारा एसियाली खेलकुद पनि पर धकेलिने सम्भावना बलियो छ ।

पारा एसियाली खेलकुदअन्तर्गत पारा तेक्वान्दोका दुई महिला खेलाडी पलेशा गोबर्धन र सिर्जना घिसिङ भने वरीयताका आधारमा स्वतः एसियाडको टिकट काट्न सफल भइसकेका छन् । पलेशाले के४४ अन्तर्गत ५७ केजी तौल समूहमुनि तथा सिर्जनाले के४४ अन्तर्गत ५२ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्नेछन् । पलेशा वरियताको नवौ र र्सिजना दसौं स्थानमा रहँदै चीनको हाङझाउमा हुने प्रतियोगिताका लागि लागि स्वतः छनोट भएका हुन् ।

यसअघि प्रतियोगिता खेल्न नेपाली पारा तेक्वान्दो खेलाडीले छनोट चरण पार गर्नुपर्ने थियो । तर यसपालि भने दुई नेपाली खेलाडीले वरीयताका आधारमा पारा एसियाली खेलकुदमा स्थान बनाए । उनीहरूबाट नेपालले पदकसमेत आस गरेको छ ।

पलेशा र सिर्जना अन्य पारा खेलाडीसँगै प्रशिक्षक कविराज नेगी लामाबाट दिनहुँ प्रशिक्षणरत छन् । एक महिनायता पलेशा र र्सिजना सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा दिउँसो ४ देखि साँझ ६ बजेसम्म निरन्तर प्रशिक्षणमा होमिन्छन् । पारा एसियाली खेलकुद स्थगित हुने वा नहुनेबारे औपचारिक रूपमा कुनै जानकारी त आएको छैन । तर उनीहरूको तयारीलाई त्यसले कुनै प्रभाव पारेको छैन ।

एसियाडका लागि तयारी राम्रो भइरहेको र प्रतियोगिता पछि सरे आफूहरूका लागि त्यो फाइदाजनक हुने ओलम्पियन पलेशा बताउँछिन् ।

 ‘हामीले अहिले दैनिक दुई घण्टा प्रशिक्षण गरिरहेका छौं,’ पलेशाले भनिन्, ‘तयारी राम्रो भइरहेको छ ।’ उनले टोकियो पारा ओलम्पिक २०२० मा गरेको उत्कृष्ट प्रदर्शनले आफ्नो मनोबल बढेको बताइन् । त्यसले गर्दा आफूले बहराइनमा स्वर्ण पदक जित्न सफल भएको उनको तर्क थियो ।

उनले भनिन्, ‘एसियाली स्तरमा जितेको स्वर्णले मेरो मनोबल थप बढेको छ । नेपाललाई एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने सपना छ । त्यही सपना साकार पार्न निरन्तर प्रशिक्षणबाट कमजोरी सुधारिरहेको छु ।’

प्रतियोगिता सर्ने वा नसर्नेबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नभए पनि प्रशिक्षणलाई निरन्तरता दिने पलेशाले बताइन् । उनले थपिन्, ‘पारा एसियाड स¥यो भने प्रशिक्षणका लागि अझ बढी समय पाउने छौं । त्यसले सुखद नतिजाका लागि सहयोग गर्ने विश्वास छ ।’

तर, पारा खेलाडीका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उचित चासो नदेखाएको भन्दै उनले गुनासो गरिन् ।

अर्की खेलाडी सिर्जनाले पनि प्रतियोगिता सरे पनि त्यसले आफूहरूको प्रशिक्षणमा असर नगर्ने र थप राम्रो तयारी गर्न समय मिल्ने प्रतिक्रिया दिइन् ।
उनले बहराइन र इरानमा मार्चमा सम्पन्न प्रतियोगितामा के४४ अन्तर्गत ५२ केजीमुनि रजत पदक जितेकी थिइन् । त्यसमा गरेको प्रदर्शनकै आधारमा उनी वरीयताको शीर्ष १० मा परेकी हुन् । सिर्जनाले भनिन्, ‘त्यो मेरो लागि आफैंमा ठूलो उपलब्धि हो । म यो उपलब्धि गुम्न दिने छैन । मेरो लक्ष्य प्रतियोगितामा स्वर्ण पदक जित्ने छ । त्यसैले निरन्तर प्रशिक्षणमा छु र तयारी पनि राम्रो भइरहेको छ ।’

उनले प्रतियोगिता स्थगित भएको खण्डमा त्यो आफूहरूका लागि थप प्रशिक्षण गर्दै आफ्नो क्षमतामा सुधार गर्ने अवसर हुने सिर्जनाको तर्क थियो ।

प्रशिक्षक कविराज नेगी लामाले पनि प्रतियोगिता सरेको बारे आधिकारिक केही जानकारी नभएकाले प्रशिक्षण नरोकिएको बताए । उनले भने, ‘पारा एसियाली खेलकुद स्थगित भएकोबारे केही खबर आएको छैन । त्यसैले पलेशा र सिर्जनासँगै छनोट चरणको तयारीमा रहेका खेलाडीलाई दैनिक दुई घण्टा प्रशिक्षण गराइरहेको छु ।’

पलेशा र र्सिजना निकै आशलाग्दा खेलाडी भएको नेगी लामाले बताए । उनीहरूबाट यसपालि पदक आस गरिएको उनले सुनाए । भने, ‘पलेशा र र्सिजनाले पछिल्ला केही प्रतियोगितामा गरेको प्रदर्शनले पनि हामीलाई थप हौसला मिलेको छ । जसले पदक जित्न सहयोग गर्नेछ ।’

टोकियो पारा ओलम्पिकमा पलेशाले दुई फाइट जित्दै कांस्य पदकको नजिक पुगेकी थिइन् । तर चीनियाँ प्रतिद्वन्द्वीसँग कांस्य पदक भिडन्तमा उनी कडा प्रतिस्पर्धाको बाबजुद पराजित भएकी थिइन् ।