एनएसजेएफ

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी पुन: निर्वाचित

काठमाडौं । नेपाल खेलकुद पत्रकार महासंघ (एनएसजेएफ) कार्यसमितिको अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) पुनः निर्वाचित भएका छन् ।

बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीले ५९ मत प्राप्त गरे ।  उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । यस्तै, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निरञ्जन अधिकारीसँगै उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जिव शिल्पकार निर्विरोध चयन भए ।

यसै गरी महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ पनि निर्विरोध चयन भए ।

कार्यसमितिको सदस्यका लागि भने चुनाव भएको थियो । जसबाट अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना, निशान राई र महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् ।

चुनावमा ठकुरीले ६८, तिमल्सिनाले ५३, राईले ६५ मत पाउँदा महिला सदस्यमा मुनाले ६२ मत पाइन् । यसबाहेक सदस्य पदका लागि उम्मेद्वारी दिएका सञ्जिवकुमार साहले २९ मत पाउँदा महिला सदस्यको अर्की उम्मेद्वार लक्ष्मी जिसीले ३१ मत पाइन् ।

मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे ।

अध्यक्षमा निर्वाचित सुवेदीले अघिल्लो कार्यकालमा कोभिड १९ महामारीका कारण पूरा गर्न नसकेका काम अबको तीन वर्षे कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।