काठमाडौं जिल्ला खेलकुद विकास समिति

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरे ।

उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बागमती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो ।

खेलकुद पृष्ठभूमिका ४४ वर्षीय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् ।

पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए । उनले खेलकुदमा लागेको व्यक्तिलाई काठमाडौं जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए ।