नेपाली खेलकुद

व्यस्त संघ, व्यस्त खेलाडी

भलिबल नेपालको राष्ट्रिय खेल । त्यो नाताले यसका गतिविधि अन्य खेलको तुलनामा बढी हुनु स्वाभाविकै हो । यसैगरी आर्थिक रूपमा बलिया र लोकप्रियतामा पनि अगाडि रहेका फुटबल र क्रिकेटमा गतिविधि गर्न अन्य खेलमा भन्दा सजिलो छ ।

यही कारण हो, कोभिड–१९ महामारीबाट थलिएको नेपाली खेलकुद क्षेत्र वर्ष २०७८ मा लयमा फर्किन खोज्दा यिनै खेल बढी व्यस्त रह्यो । तर यत्तिमै मात्र नेपाली खेलकुदको बितेको वर्ष सीमित रहने थिएन ।

कोभिड महामारीका कारण दुई वर्षसम्म हुन नसकेका विभिन्न खेलका कयौं प्रतियोगिताहरू बितेको वर्ष सम्पन्न भए । यसक्रममा ब्याडमिन्टन सबभन्दा बढी व्यस्त रहँदा बास्केटबल, फेन्सिङ, टेनिस, हक्की, तेक्वान्दो, एथलेटिक्स, बक्सिङ, कराते, जुडोलगायतका खेलले पनि पुनरागमन जनाएका छन् । 



नेपालका प्रिन्स दाहाल जुनियरतर्फ विश्व नम्बर एकमा बढुवा भएको वर्ष २०७८ ब्याडमिन्टन चर्चामा रहिरह्यो । नेपाली ब्याडमिन्टन सक्रिय रहेको प्रमाण हो यो ।

यसक्रममा नेपाल ब्याडमिन्टन संघ र त्यसमातहतका निकाय तथा निजी क्षेत्रसँगको सहकार्यमा दर्जनौं प्रतियोगिताहरू सम्पन्न भए ।

त्यसक्रममा पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन, राष्ट्रव्यापी भक्तपुर खुला ब्याटमिन्टन, अन्नपूर्ण कर्पोेरेट ब्याडमिन्टन, काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन, जेस्ट ब्याडमिन्टन, प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टनलगायतका राष्ट्रिय स्तरका प्रतियोगिताहरू बितेको वर्षमा सम्पन्न भए । कर्पोरेट ब्याडमिन्टनमा नयाँ आयाम थप्यो । शीर्ष खेलाडीलाई हरेक कर्पोरेट हाउसमा आबद्ध गराएर प्रतियोगिता गराइयो ।

यसैगरी पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको अस्वस्थतासँगै गतिविधि शून्य भएको बास्केटबलले लामो समयपछि कोर्टमा पुनरागमन जनायो ।  

कारण लामो समयदेखि कोमामा रहेको बास्केटबल संघमा नयाँ नेतृत्व आएसँगै यस वर्षबाट राष्ट्रियस्तरको प्रतियोगिता सुरु भयो । संघले फागुनमा पूर्वअध्यक्षको स्मृतिमा लामा टेण्डी शेर्पा स्मृति राष्ट्रिय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सम्पन्न गर्यो ।

संघले फुटबल र क्रिकेटमा जस्तै बास्केटबलमा पनि फ्रेन्चाइज लिगको तयारी पनि गरिहेको छ ।

महामारीले थलिएको खेलक्षेत्रलाई पुनर्जागृत गर्ने प्रयासमा नेपाल फेन्सिङ संघले पनि एउटा इँटा थप्यो । फागुनमा वीर गणेशमान सिंह फाउन्डेसनसँगको सहकार्यमा संघले भव्यतापूर्वक राष्ट्रिय फेन्सिङ प्रतियोगिता आयोजना गर्यो ।

महामारीको प्रभाव कम भएसँगै नेपाल लनटेनिस संघको आयोजनामा यस वर्ष केही प्रतियोगिताहरू भए । मंसिरमा काठमाडौंमा एसियाली यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ र २ का प्रतिस्पर्धा सम्पन्न भए । त्यसमा छात्रछात्रा दुवै विधामा नेपाली खेलाडीको वर्चस्व रह्यो ।

त्यस्तै सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजना तथा नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता भयो ।

त्यस्तै यसै वर्ष गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोटर्स कमिटीले संयुक्त रूपमा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता पनि आयोजना भयो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल तेक्वान्दो संघको चुनावी साधरणसभालाई मान्यता नदिए पनि संघको आयोजना र सहकार्यमा तेक्वान्दोका धेरै प्रतियोगिताहरू भएको वर्ष नेपालको एथलेटिक्स पनि चलायमान रह्यो । नेपाल एथलेटिक्स संघ तथा अन्य संस्थाहरूको आयोजनामा युथ एथलिट च्याम्पियसिप, झिल्टुङ क्रसकन्ट्री दौड, धरान रन, केटिएम रन, सिन्धुपाल्चोकको चौतारामा मेयर कप खुला हाफ म्याराथन, नेपालगन्ज म्याराथन, एलटिक ट्र्याक एन्ड फिल्डलगायतका थुप्रै प्रतियोगिता देशका विभिन्न स्थानमा आयोजना भए ।

यसैगरी चितवनको देवीनगरमा स्थानीय बासिन्दा देवेन लोहनीले निजी खर्चमा एथलेटिक्स ट्र्याक निर्माण गरेका छन् ।

लोहनीले करिब ३० लाख रुपैयाँको निजी खर्चमा बनाएको दुई सय मिटरको एथलेटिक्स ट्र्याक चैत १९ गते युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।

वीर गणेशमान फाउन्डेसनले फेन्सिङ, कराते र टेनिससँगै बक्सिङ प्रतियोगिता पनि आयोजना गर्यो । फाउन्डेसनले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता सम्पन्न हुँदा नेपाल बक्सिङ संघको आयोजनामा असोजमा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोटका खेलहरू आयोजना भएका थिए ।

यसैगरी संघकै आयोजनामा मंसिरमा दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष बक्सिङ प्रतियोगिता तथा चैतमा राष्ट्रिय स्कुल पुरुष तथा महिला बक्सिङ प्रतियोगिता भएको थियो ।

करातेमा महासंघ आफैंले कुनै प्रतियोगिता नगरे पनि नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर जिल्ला डोजो, वीर गणेशमान स्पोर्टस फाउन्डेसन, नेपाल सोतोकान कराते डो संघ, सूर्योदय खेलकुद विकास समिति, सितोरियो कराते संघ र शंखधर डोजो लगायतका संस्थाले प्रतियोगिताहरू सञ्चालन गरे ।

लोकतान्त्रिक खेलकुद र ललितपुर जिल्ला डोजोको संयुक्त आयोजनामा यसै सातामात्र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भयो ।

नक्साल शाखा डोजोले असारमा सातौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्दा सितोरियो कराते संघ र शंखधर डोजोको आयोजनामा भदौको अन्त्यमा प्राचिन नगरी बोडेमा प्रथम अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिता भयो ।

यसैगरी अन्तर्राष्ट्रिय स्पर्धातर्फ १३औं सागका दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले असोजमा जर्मनीमा सम्पन्न सेनमिङ ओपन कराते प्रतियोगितामा दुई स्वर्ण जित्दा मुकुन्द महर्जनले एक स्वर्ण र एक कांस्य पदक हात पारे ।

पुसमा बंगलादेशको ढाकामा सम्पन्न विजी कराते च्याम्पियनसिपमा नेपालका सितोरियो खेलाडीहरूले चार स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जिते । नेपालको तर्फबाट डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक÷एक स्वर्ण पदक जितेका थिए ।