उत्कृष्ट पुरुष खेलाडी

सफल र चर्चित ‘फाइभ स्टार’

काठमाडौं । वर्ष २०७८ साल नेपाली खेलकुदका लागि सम्झनलायक रह्यो । यो वर्ष नेपाली क्रिकेट सबैभन्दा व्यस्त खेल बन्दा फुटबलमा नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्यो ।

समयदेखि रोकिएको राष्ट्रिय बास्केटबल प्रतियोगिता पनि यसै वर्षबाट सुरु भयो । ब्याडमिन्टन देशैभर चलायमान रहँदा पहिलो पटक नेपाली खेलाडी विश्व वरीयताको शीर्षस्थानमा पुग्न सफल भए ।

क्यालेन्डरले वर्ष २ं०७८ लाई इतिहासको पानामा दस्ताबेजीकरण गर्नैलाग्दा खेलाडी डटकमले बितेको वर्षभर आफ्नो प्रदर्शनमार्फत नेपाली खेलकुदको श्रीवृद्धिमा योगदान गर्ने हजारौं खेलाडीको बीचबाट ५ पुरुष खेलाडीको चयन गरेको छ । योगदानका हिसावमा थुप्रै खेलाडीका उपलब्धि इतिहासको पानामा स्वर्णाक्षरले अंकित भइसकेको छ । तिनै खेलाडीको बीचबाट खेलाडी डटकमले चुनेका वर्ष २०७८ का पाँच स्टार:

प्रिन्स दाहाल (ब्याडमिन्टन)

नेपाली ब्याडमिन्टनमा चिनाउनुपर्ने नाम होइन, प्रिन्स दाहाल । नेपालमा मात्रै नभएर आफूलाई ‘ग्लोबल स्टार’ बनाइसकेका छन् प्रिन्सले । ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एक बनेका प्रिन्सको उपलब्धि यो वर्ष नेपाली खेलकुदले गर्व गर्नलायक रह्यो ।

उमेर समूहदेखि नै नेपाली ब्याडमिन्टनमा तहल्का मच्चाइरहेका प्रिन्स हालै सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सर्वाधिक सफल विधा ‘पिपल्स च्वाइस’को मनोनयनमा समेत परेका थिए ।

घरेलु ब्याडमिन्टनमा नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै सनसनी मच्चाएका प्रिन्स युवा स्टार हुन् । प्रिन्सले सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजितलाई हराएका थिए ।

घरेलु प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरिरहेका प्रिन्सले पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन सिनियरतर्फ लगातार दुई पटक उपाधि जितेका छन् । प्रिन्सले साइनो कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि पनि जितिसकेका छन् । ब्याडमिन्टनका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि लगातार प्रतिस्पर्धा गर्दै आएका प्रिन्स इन्डिया इन्टरनेसनल च्यालेन्जको सिनियर खेल्न भारत पुगेका थिए ।

जुनियरतर्फ विश्व वरीयताको सातौंबाट तेस्रो हुँदै नम्बर एक बनेका प्रिन्स २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका छन् । सानै उमेरमा सफलताका थुप्रै चाङमाथि रहेका प्रिन्सबाट आगामी वर्षमा पनि नेपाली ब्याडमिन्टनले धेरै अपेक्षा गर्नेछ ।

कुशल भुर्तेल (क्रिकेट)

वर्ष २०७८ को सुरुमै नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला जितेर बाँकी वर्ष सुखद रहने संकेत गर्यो ।

कोभिड १९ महामारीबाट आक्रान्त नेपाली समर्थकलाई वर्षको सुरुमै खुसीको उपहार दिने टोलीको नायक थिए ओपनर कुशल भुर्तेल । अप्रिल १७ मा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै राष्ट्रिय क्रिकेट टोलीबाट ‘डेब्यु’ गरेका कुशलले शृंखलामा लगातार तीन अर्धशतक बनाएका थिए ।

‘डेब्यु’ गरेको ट्वान्टी २० शृंखलामा लगातार तीन अर्धशतक पूरा गर्ने पहिलो क्रिकेटरको कीर्तिमान रचेका कुशल शृंखलामा दुई सय ७८ रन जोड्दै म्यान अफ द सिरिज घोषित भए । यस शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनकै कारण कुशल आइसिसी पुरुष महिना खेलाडी अवार्डको मनोनयनमा समेत परेका थिए ।

भुर्तेलले २०७८ मा खेलेका १६ ट्वान्टी–२० खेलमा ५ अर्धशतकसहित ५ सय ७३ रन प्रहार गरेका छन् ।

उनले ओमानमा सम्पन्न आइसिसी वल्र्डकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलसँगै सेप्टेम्बर ७ मा नेपालको एकदिवसीय टोलीबाट ‘डेब्यु’ गरेका थिए । २०२२ फेबु्रअरीमा सम्पन्न आइसिसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरअन्तर्गत कुशलले फिलिपिन्सविरुद्धको खेलमा पहिलो ट्वान्टी–२० शतक प्रहार गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी (क्रिकेट)

ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ख ेलाडीको कीर्र्तिमान रचेका राष्ट्रिय क्रिकेट टोलीका अलरान्उडर दीपेन्द्रसिंह पूरा वर्षभर नै ट्वान्टी–२० स्वरुपमा संकटमोचकको भूमिकामा रहे ।

सेप्टेम्बरमा ओमानमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र पिएनजीसम्मिलित शृंखलामा चोटका कारण अनुपस्थित दीपेन्द्रका लागि फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न अर्को शृंखला पनि फलदायी हुन सकेन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको उक्त शृंखलामा पिएनजी, नेपाल र युएई सहभागी थिए । जहाँ उनले शृंखलाका ४ खेलमा १२ रन जोड्दै ३ विकेट लिएका थिए ।

फेब्रुअरीमै सम्पन्न आइसिसी ट्वान्टी–२० ग्लोबल क्वालिफायरमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरे पनि युएईसँग पराजित भएसँगै ८ वर्षपछि ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली लक्ष्यमा पूर्णविराम लाग्यो । त्यो प्रतियोगिता पनि उनका लागि औसतमात्र रह्यो । उनले एक सय ५९ रन जोड्दै ३ विकेट लिए ।

चैत ११ देखि नेपालमै सम्पन्न पिएनजीविरुद्धको दुई एकदिवसीय शृंखला उनका लागि सुखद रह्यो । नेपाल पिएनजी र मलेसियासम्मिलित त्रिदेवसीय शृंखला पनि उनका लागि फलदायी रह्यो ।

पिएनजीविरुद्ध दुई एकदिवसीय खेलको शृंखला नेपालले २–० ले गुमायो । दीपेन्द्रले पहिलो खेलमा १५ रन जोड्दा दोस्रो खेलमा एक सय ४ रन बनाए ।

त्रिदेवसीय ट्वान्टी–२० शृंखला भने उनका लागि विशेष रह्यो । उनी नेपालबाट ट्वान्टी– २० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीसमेत बनेका दीपेन्द्रले दुई अर्धशतक र एक शतकसहित ५ सय ५५ रन बनाएका थिए ।

उनले समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए । उनी यस शृंखलाको अधिकांश खेलमा मध्यक्रममा सम्हालिएको इनिङ्स खेल्दै नेपालका लागि संकटको सारथि बनेका थिए । ।

सुनील बल (फुटबल)

मछिन्द्र फुटबल क्लबले यस वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्दा सुनील बलको भूमिका नायकको थियो ।

लिगकै उत्कृष्ट खेलाडी बनेका सुनीलले सातौं चरणमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध फ्रिकिकमा गरेको गोलले मछिन्द्रलाई मध्य सिजनको च्याम्पियनको हैसियतमा एएफसी कपको पहिलो चरणका लागि छनोट गराएको थियो ।

अपराजित रहँदै सिजन अन्त्य गरेको मछिन्द्र एएफसी कपको प्रारम्भिक चरणमा भने श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार स्पोर्ट्स क्लबलाई नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

मछिन्द्रका लागि ‘डेब्यु’ खेलमै सुनीलले एनआरटीविरुद्ध दुई गोल गरेर विशेष छाप छोडेका थिए । मैदानमा प्राविधिक अनुशासनको घेराभित्र रहेका सुनीलले पूरा लिग अवधिमा एक पटकमात्र पहेँलो कार्ड सामना गरे ।

लिगमा गोल गर्नेक्रम पहिलो खेलपछि रोकियो । दोस्रो र तेस्रो खेलमा उच्च प्रदर्शनका बाबजुत स्कोरसिटमा नाम लेखाउन असफल भएका सुनीलले चौथो खेलबाट गोल गर्ने लय फेरि समाए । चौथो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गरेका सुनीलले त्यसपछि मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब र च्यासल युथ क्लबविरुद्ध एक–एक गोल गरेका थिए ।

सात खेलमा पूरा समय (परिवर्तन नभई) खेलेका सुनीलले मैदानमा बिताएका प्रत्येक मिनेटप्रति पूरा न्याय गरे । २०७८ साल उनको खेलजीवनमै अहिलेसम्मको सफल वर्ष थियो । अन्तर्राष्ट्रिय फुटबलमा गरेको लोभलाग्दो प्रदर्शनपछि हेटौंडा स्थायी घर भएका सुनीलले लिगमा सर्वोत्कृष्ट खेलाडीको ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुनील ‘टिम गेम’मा विश्वास गर्ने खेलाडी हुन् । खेलजीवनको पहिलो लिग उपाधि र सर्वोत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार पाउनुको रहस्य यसैलाई मान्छन् उनी ।

विशाल श्रेष्ठ (फुटबल)

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले रक्षा गर्दा गोलकिपर विशाल श्रेष्ठको भूमिका महत्त्वपूर्ण रह्यो । लिगको पहिलो खेलमा एकमात्र गोल खाएका विशालले त्यसपछि लगातार १० खेलमा क्लिनसिट राखेका थिए । यद्यपि ११औं खेलमा एपिएफ फुटबल क्लबविरुद्धको खेलमा प्रदीप लामाले गरेको गोलसँगै विशालको क्लिनसिट यात्रा टुंगिएको थियो । तर, लिगका १३ मध्ये ११ खेलमा मछिन्द्रले कुनै गोल खाएन र लगातार क्लिनसिट राख्यो । त्यसको श्रेयका पूर्ण हकदार हुन् विशाल ।

समयका आधारमा विश्लेषण गर्दा गोलकिपर विशालले लगातार १ सय ९४ मिनेट कुनै गोल खाएनन् । त्यो नेपाली लिगका उपलब्ध तथ्यांकमा यो कीर्तिमान हो । मछिन्द्रले वर्ष ०७६ मा लिग जित्दा पनि उनी गोलरक्षक थिए । यस लिग उपाधि यात्रामा पनि उनले उत्तिकै प्रमुख भूमिका खेले । यसरी मछिन्द्रले मात्र होइन, विशालले पनि लगातार दुईपल्ट लिग उपाधि जितेका छन् । त्यतिमात्र कहाँ हो र ? विशालले लिग उपाधि जितेको यो लगातार चौथोपल्ट हो । यो पनि आफैंमा अविश्वसनीय कीर्तिमान हो । यसरी लगातार लिग जित्ने अवसर सजिलै कसरी तयार हुन्छ र ?

विशालले जम्माजम्मी एकैपल्ट मात्र नेपालका लागि खेल्न पाएका छन् । डर थियो, नेपालका लागि कतै बेन्चमा मात्र बसेर उनले आफ्नो खेलाडी जीवन टुंग्याउने त होइनन् । तर भारतविरुद्धको मैत्रीपूर्ण खेलमा उनले मौका पाएका छन् । यो एक क्याप नै उनका लागि खुबै भावनात्मक रहेको छ । त्यसैले फेरि दोहो¥याएर भन्न सकिन्छ, उनी अहिले तत्कालका घरेलु गोलरक्षकमध्ये नम्बर एक हुन् ।

एएफसी एसिया कपको प्रारम्भिक छनोटमा गत साता भएको श्रीलंकाली ब्लु स्टारविरुद्धको खेलमा पेनाल्टी बचाउसहित उनको प्रदर्शन प्रसंशनीय थियो । विशालको पेनाल्टी बचाउका बाबजुद मछिन्द्र २–१ ले पराजित हुँदै छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो ।