सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आइकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

धनगढी । धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

सुदूरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै, महिलातर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी प्रिसेडेन्ट च्याम्पियन बनेको थियो । उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि डिभिजन लिगमा छनोट भएको थियो । उनकै नेतृत्वमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पियन बनेको थियो । 
क्रिकेटर अर्जुनले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो सतक हानेका थिए । उनले एसिसी यु १९ क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।

भारात्तोलनका अशोकले २४औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताएका छन् । उनले सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै, राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

महिलातर्फ क्रिकेटर कविताले आइसिसी महिला ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेम्बु गरेकी थिइन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा चार खेलमा सात विकेट र ४० रनको योगदान दिएकी थिइन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा पनि उनी टोलीकी महत्वपूर्ण सदस्य थिइन् ।

बक्सिङकी स्वस्तिकाले युएईमा भएको जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । यसबाहेक, जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन् ।

त्यस्तै, तेक्वान्दोकी गीताले हालै काठमाण्डौंमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाण्डौंमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदुरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै, स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र भइरहेको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।