सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः नवजीवन को–अपरेटिभ्सको साथ

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमले प्रायोजन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । अघिल्लो संस्करणमा पनि साथ दिएको को–अपरेटिभ्सका अध्यक्ष बलले आगामी दिनमा पनि खेलाडीहरुको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को–अपरेटिभ्स लिमिटेड नेपालकै बैकिङ कारोबार गर्ने पहिलो सहकारी हो । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी रहेको छ । 

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।