मार्सल आर्ट

कोसिश र सन्तोष जिजित्सु च्याम्पियनमा सहभागी हुन शनिबार बहराइन जाने

काठमाडौं । छैटौं एसियाली जिजित्सु च्याम्पियनमा सहभागी हुन दुई नेपाली जिजित्सु खेलाडी शनिबार बहराइन जाने भएका छन् ।

बहराइनको मानामा सोमबारदेखि बिहीबारसम्म हुने मार्सल आर्ट्सको विधा जिजित्सु प्रतियोगितामा कोसिश श्रेष्ठ, सन्तोष खत्री र मुख्य प्रशिक्षक मेघबर चेम्जोङ त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा कोसिशले ६९ केजीमा र सन्तोषले ७५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट पहिलो पटक जिजित्सु टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

प्रतियोगिताको तयारीका लागि नेपाल जिजित्सु संघले एक महिनादेखि बन्द प्रश्क्षिणमा राखेको थियो । नारायणचौरस्थित रेज फिट्नेसमा दुवै खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

यस्तै, संघका अध्यक्ष दयाराम पाण्डे वार्षिक साधारण सभामा भाग लिन सोमबार बहराइन प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीलाई होन्डाले प्रायोजन गर्नुका साथै रेज फिट्नेस, सेन्ट जेभियर्स ब्याच अफ १९९० र ओमेगा च्याम्पियनसिपले सहयोग गरेका छन् ।

बहराइन जाने टोलीलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले शुक्रबारै बिदाई गरे ।