राखेप

सदस्यसचिवको अनुपस्थितीमा रोकिएका सबै काम अगाडि बढाउछु: थापा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले बिहीबार पदवहाली गरेका छन् ।

कार्यभार सम्हाल्दै थापाले राखेप सदस्यसचिवको अनुपस्थितीमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताए ।

‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प अवस्थामा छन् । तिनलाई अगाडि बढाउछु,’ थापाले भने, ‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनुपर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु । सदस्यसचिवको अनुपस्थितीमा थाती रहेका सबै काम अगाडि बढाउछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको बताउदै भने, ‘यहाँका सबै समस्याका बारेमा मलाई जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउदिन । जुन ग्यापले हाम्रो समस्याहरु अड्केर बसेका छन् । ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसंग समन्वयगरि काम गर्नेछु ।’

उनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुने कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

थापालाई युवा तथा खेलकुद मन्त्रालयले बुधबार राखेपका सदस्यसचिवको अनुपस्थितिमा सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।