शीतकालिन ओलम्पिक

विन्टर ओलम्पिकः ३० भन्दा बढी एथलेट कोभिड संक्रमित

बेइजिङ । चीनको राजधानी बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा सहभागी ३० भन्दा धेरै खेलाडीहरु कोभिड संक्रमणका कारण आइसोलेसमा बसेको आयोजकले सार्वजनिक गरेको छ ।

‘हामी हाम्रो क्षमताले सकेसम्म सबैलाई सुरक्षित रुपमा आइसोलेशनमा राख्नेछौं’, बेइजिङ ओलम्पिकका मेडिकल प्यानलका प्रमुख ब्रेन म्याकक्लोस्कीले भने ।

उनले हालसम्म ५० खेलाडी डिस्चार्ज भइसकेका छन् र आइसोलेशनमा रहेका अधिकांशको अवस्था सामान्य रहेको र स्वास्थ्य उपचारको आवश्यकता नपर्ने बताए ।

अखाद्य खाना, फोहोर कोठा, प्रशिक्षण सामग्रीको अभाव र इन्टरनेट पहुँच पर्याप्त नभएको गुनासो आएपछि ओलम्पिकमा सहभागी ३२ खेलाडी आइसोलेशनमा रहेको सार्वजनिक भएको हो ।

कोभिडका कारण खेल गुमाउन सक्ने सम्भावना रहेकाले आइसोलेशनमा रहेका खेलाडी कठिन अवस्थामा रहेको आयोजकको बुझाइ छ । र, आयोजकले चाडै नै खेलाडीहरुको समस्या सम्बोधन गर्ने बताएको छ ।

कोभिड १९ महामारी नियन्त्रणका लागि आयोजकले खेलाडीहरुको दैनिक पिसिआर परिक्षण गरिरहेको छ र परिक्षण रिर्पोट पोजिटिभ आउने खेलाडीलाई आइसोलेशमा राख्ने गरेको छ ।