राखेप

खेल क्षेत्रमा राजनीति गरिनु दुखदः मन्त्री गहतराज

नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२औं साधारणसभामा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेल क्षेत्रमा राजनीति गरीनु दुखद भएको बताएका छन् । बिगतदेखि नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै मन्त्री गहतराजले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनीति मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दावी समेत गरे ।  

‘राखेपको सन्दर्भमा आदेश त अल्पकालिन थियो तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ । खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु’ मन्त्री गहतराजले भने ।

यस्तै उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको बताए ।

‘यो रमेश सिलवाल अथवा टंकलाल घिसिङको विषय मात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो । अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ,’ उनले भने ।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्धामाथी बहस भएन । उक्त मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको समेत सहभागिता रहेको थियो ।