युवा तथा खेलकुद मन्त्रालय

खेलाडी तथा खेल पत्रकार सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आइतबार समान नौ खेलाडी तथा खेल पत्रकारलाई सम्मान गरेको छ ।

मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी नौ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको हो ।

सम्मानित हुने खेलाडीमा उसुका तीन तथा कराते, एथलेटिक्स र पारा खेल (बहुखेल) का समान एक खेलाडी छन् ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ सम्मानित भए । यस्तै करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा सम्मानित भए । सम्मानित सबै खेलाडीले प्रशंसा पत्रसहित जनही एक लाख रुपैया प्राप्त गरे ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवोकोटकी संगीना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित भए । समान अंक हासिल गरेकाले दुवैले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए ।

त्यस्तै निर्णायकमा काठमाडौंका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका अशोकले एक लाख नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

सोही अवसरमा मन्त्रालयले नौ खेल पत्रकारलाई सम्मान गरेको छ । कान्तिपुर दैनिकका हिमेशरत्न वज्रचार्य खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ कान्तिपुर दैनिककै सन्जु पौडेल तथा ढोरपाटन दैनिकका विजय नेपाली पुरस्कृत भए । दुवैले जनही २५ हजार र प्रशंसा पत्र प्राप्त गरे ।

पत्रकारिता प्रोत्साह पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ बाट स्थानिय सन्देश साप्ताहिकका नमिन ढकाल, प्रदेश २ बाट नयाँ पत्रिका दैनिकका बसन्त खतिवडा, बाग्मती प्रदेशबाट कान्तिपुर दैनिक कुशल तिमल्सिना, गण्डकी प्रदेशबाट ग्यालेक्सी फाेर के टिभीकी सोनिका अर्याल, लुम्बिनी प्रदेशबाट रेडियो नमस्तेका दीपक न्यौपाने, कर्णाली प्रदेशबाट गुराँस खबर डटकम रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशबाट रासस स्थानिय समाचारदाता विनोदसिंह विष्ट पुरस्कृत भए । सातैजनाले समान २५-२५ हजार नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

सम्मानित सबैजनालाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सह-सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सम्मान गरेका हुन् ।