नेकोस

नेकोसको खेल नीति सम्मेलन मंसिर पहिलो साता

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस) ले यही मंसिर पहिलो साता काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन आयोजना गर्ने भएको छ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यमा हुने कार्यक्रम यही मंसिर पाँच र ६ गते काठमाडौंमा हुने नेकोसका प्रचार विभाग प्रमूख उमेश केसीले जानकारी गराएका छन् ।

नीतिगत झमेलाका कारण देश संघीय संरचनामा गएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद परिषद र स्थानीय पालिका तहका खेल प्रशासनबीच समन्वय हुने नसकेको ठहर गर्दै नीति सम्मेलन आयोजना गरिएको नेकोसले जनाएको छ ।

नीतिगत अन्योलका कारण विभिन्न राष्ट्रिय खेल संघहरु खारेजीको अवस्थामा पुगिसकेको उल्लेख गर्दै केसीले समग्र नेपाली खेलकुदलाई अन्योलबाट निकाल्नका लागि सम्मेलनले दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

खेलाडी, पदाधिकारी, खेल विज्ञ, पत्रकार, प्रायोजक, राजनीतिज्ञ तथा प्रवद्र्धकहरुको सहभागिता रहने सम्मेलनले संघीयताअनुसारको कानुन बनाउने, खेलको वर्गिकरणको आधार तयार गर्ने लगायतका काममा दिशानिर्देश गर्ने केसीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी खेलकुदका विभिन्न सरोकारवालाबीच नीतिबाटै सहकार्यको वातावरण बनाउने, नेपाली खेलकुदको भावी रणनीति तय गर्ने, सरोकारवालाहरुमा खेल इभेन्टहरुको ब्रान्डिङ क्षमता बढाउने लगायतका उद्देश्य प्राप्तीमा सम्मेलन प्रभावकारी हुने बताइएको छ ।