राखेप

बोर्ड सदस्यले भोली स्पस्ष्टिकरण बुझाउने

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ भोलीसम्ममा दिने राष्ट्रिय खेलकुद परिष्द (राखेप) का बोर्ड सदस्य सम्पन्न श्रेष्ठले बताए । 

‘मन्त्रालयले स्पष्टीकरण सोध्यो हामी जवाफ दिन्छौ, एकमुष्ट पत्र आएको भए एकैचोटि दिन्थ्यौ तर सबैलाई फरक-फरक पत्र आएकाले छुट्टा-छुट्टै जवाफ दिन्छौ । जहाँसम्म लाग्छ उहाँहरुलाई हाम्रो जवाफले चित्तबुझ्नेछ । तीन दिनको समय दिएको छ । भोलिसम्ममा हामी पत्र बुझाउँछौ,’ उनले खेलाडीसँगको कुराकानीमा भने । 

मन्त्रालयले कात्तिक २५ गते राखेपका नौ जना बोर्ड सदयस्यसँग तीन कुरामा स्पष्टीकरण सोधेको श्रेष्ठ बताउँछन् । 

‘हामीले हिजो गएर राखेपमा बुझ्यौ तीन कुरामा प्रश्न गरेको रहेछ, बैठक किन नराखेको ? राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत काम किन नगरेको ?  संस्थाको जिम्मेवारी बोध किन नगरेको ? भन्ने विषयमा स्पष्टीकरण सोधेको रहेछ,’ उनले भने । 

तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गत भदौमा रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, गोपाल खनाल, गोविन्दप्रसाद भट्टराई, रिम रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसीलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।