ट्राईथलन

जोर्डन र आजमी च्याम्पियन

काठमाडौं । जोर्डन श्रेष्ठ र आजमी शेरचनले लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलन च्याम्पियन बनेका छन् ।

स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएकोप्रतियोगितामा जोर्डनले १०० मिटर पौडी ,५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै छात्रतर्फको उपाधी उचालेका हुन् । 

यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै छात्रातर्फको उपाधि जितिन् ।

दुवै विधाका विजेताले मेडल,प्रमाण पत्र र १० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा छात्रतर्फ अथर्व सिंह दोस्रो भए भने युभन लाल श्रेष्ठ तेस्रो भए । सिंहले उक्त दूरी २१ मिनट १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट १७.२० सेकेन्डमा पूरा गरे ।

 यस्तै छात्रातर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।
दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ जोर्डन श्रेष्ठ र छात्रातर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार रुपैयाँ  बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ २२ र छात्रातर्फ ७ खेलाडीको सहभागिता रहेको थियो ।