खेलाडी सम्मान

पदक विजेता खेलाडी र सदस्यसचिवबीच भेटवार्ता

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा भएको ५४औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसंग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।

श्रावण ४ गते देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरी तीन खेलाडीहरुले सहभागिता जनाएकोमा खेलाडीहरुले एक रजत र एक कांस्य पदक हासिल गर्न सफल भएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेश फिजिकको १७० से.मि.मा राजु राईले कांस्य पदक प्राप्त गरेका थिए । यस्तै महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैटाैं स्थान प्राप्त गरेकी थिइन् ।

सोही अवसरमा नेपाल शारिरीक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई माल्दिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्यसचिवलाई बुझाएका हुन् ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिती रहेको थियो । ५५औं संस्करण नेपालमा आयोजना हुने छ ।