जिम्न्यास्टिक

बंगबन्धु जिम्न्यास्टिक च्याम्पियनसिपमा १२ नेपाली खेलाडी

काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका जाने भएको छ ।

मंगलबार सुरु भएर आइतबारसम्म चल्ने प्रतियोगितामा नेपालबाट सिनियरतर्फ चार महिला र चार पुरुष तथा जुनियर पुरुषमा चार खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्यास्टिक संघका महासचिव मुकुन्दराज शर्मालाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले सहभागिता जनाउने छन् । यसैगरी जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङले नेपालको चुनौती प्रस्तुत गर्ने परिषदले जनाएको छ ।

नेपाली टोलीलाई राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जनले प्रशिक्षकको रुपमा नेतृत्व गर्नेछन् । यसैगरी व्यवस्थापकको हैसियतमा पूर्णमान वज्राचार्य तथा अफिसियलका रुपमा सुनिलमान सिंह, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान पनि टोलीसँगै बंगलादेश जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार एक कार्यक्रमबीच विदाइ गरे ।