नेपालमा रग्बी

नेपाली रग्बीले पालेको आशा

काठमाडौं । कतारमा गत महिनामात्र विश्वकप फुटबलको १८ औं संस्करण सकिएको छ । विश्व फुटबलमा करिब एक दशकयता एकक्षत्र राज गरेका लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना पहिलोपल्ट विश्वविजेता बन्यो । समग्रमा अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको थियो ।

विश्वकप फुटबल सुरु हुनुभन्दा केही महिना अघिमात्र ट्वान्टी-२० क्रिकेट विश्वकप सम्पन्न भएको थियो । पाकिस्तानलाई निरास पार्दै इङ्ल्यान्ड विश्व विजेता बन्यो ।

अस्ट्रेलियामा यसै साताबाट वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपन सुरु भएको छ । न विश्वकप फुटबलमा नेपालको सहभागिता छ न त विश्वकप क्रिकेटमा । ग्रान्ड स्लाममा नेपालको सहभागिता हुनु त परको कुरा हो । तर, आम नेपाली समर्थकका लागि विश्व फुटबलका सर्वकालीन खेलाडीका रूपमा रहेका मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार, फ्रान्सका केलियन एमबाप्पे परिचित नाम हो ।

त्यस्तै क्रिकेटमा भारतका विराट कोहली, पाकिस्तानका बाबर आजम, इङल्यान्डका बेन स्टोक्स या अस्ट्रेलियाका डेविड वार्नर पनि नेपाली समर्थकमाझ चर्चित नाम हो ।

टेनिसतर्फ कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता स्पेनका राफेल नाडाल, सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेरर पनि नेपाली समर्थकले चिन्ने नाम हुन् ।

विश्वकप फुटबल, क्रिकेट र ग्रान्ड स्लाम टेनिस कहिले हुन्छ ? को-को खेलाडी दाबेदार हुन्छन् ? कुन खेलाडीको प्रदर्शन कस्तो रहन्छ भन्ने अनुमान लगाउन नेपाली समर्थक पछि पर्दैनन् । तर, विश्वकप रग्बी कहिले हुन्छ ? कुन राष्ट्र विश्व रग्बीको बलियो टोली हो भन्ने अनुमान नेपाली समर्थकका लागि खासै चासोको विषय नबन्न छ ।

नेपालमा फुटबल र क्रिकेटको क्रेज जस्तो छ,  त्यसबाट निकै पर छ रग्बीको । यद्यपि नेपालमा रग्बी संघ स्थापनाको हिसाबले निकै पुरानो संघ भए पनि कार्यक्रमको हिसाबले अझै बामे सर्ने अवस्थामा छ ।

फ्रान्स, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्स विश्व रग्बीका सदाबहार दाबेदार टोली हुन् । विश्व फुटबलमा जस्तै जापान विश्व रग्बीमा पनि एसियाको पावर हाउस मानिन्छ । दक्षिण एसियाको कुरा गर्ने हो भने श्रीलंका र बंगलादेशमा रग्बीलाई मूलधारकै खेल विधामा लिइन्छ । पूर्वाधार र राज्यको लगानीको हिसाबमा पनि उनीहरूले निरन्तर सफलता पनि निकालिरहेका छन् ।

यता नेपाल भने एसिया रग्बी डेभलपमेन्ट सिरिज (एआरएस) मा प्रतिस्पर्धा गरिरहेको छ । यसमा पाएको सफलताका आधारमा नेपाली रग्बीले डिभिजन प्रतियोगिताहरूमा बढुवा पाउनेछ ।

अहिले नेपाली खेलसमर्थकमाझ पहिचान बनाउन रग्बी प्रयासरत छ । पोखरामा कात्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा समावेश भएसँगै यस खेलको लोकप्रियता केही बढेको मान्न सकिन्छ । अझ भनौं, नेपालमा रग्बी खेलिन्छ र ? भन्ने समर्थकसामु आफ्नो पहिचान बनाउन नवौं राष्ट्रिय खेलकुद रग्बीका लागि कोसेढुंगा साबित भयो ।

गत महिनामात्र यु-१८ ब्वाइज तथा गल्र्स एसिया रग्बी च्याम्पियनसिप काठमाडौंमा सकिएको थियो । नेपालमा आयोजना भएको रग्बीको यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एसियाली स्तरको प्रतियोगिता आयोजना गर्न पाउनु नेपाल रग्बी संघका लागि मात्र नभई नेपाली खेलकुदकै लागि ठूलो उपलब्धिमा लिन सकिन्छ ।

आफ्नो पहिचान बनाउन संघर्षरत नेपाल रग्बी संघमा हालै नयाँ नेतृत्व आएको छ । अघिल्लो साता सम्पन्न संघको १०औं साधारणसभाले दीपक देवकोटाको नेतृत्वमा १२ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । नयाँ नेतृत्वको मुख्य लक्ष्य नेपाली समर्थकमाझ रग्बी खेलको विशेष पहिचान स्थापित गराउनेमै केन्द्रित छ ।

नवनिर्वाचित महासचिव गोविन्द घिमिरे रणनीतिक रूपमा अघि बढ्ने र विश्व रग्बी संघको सदस्यता लिने नेपालको पहिलो प्राथमिकता रहेको सुनाउँछन् । ‘हामी अब सेभेन्स र फिप्टिन्सको निरन्तर रूपमा क्लब प्रतियोगिताहरू आयोजना गर्छौं,’ घिमिरेले भने, ‘हामी विश्व रग्बीको सदस्यता लिन पहल गर्नेछौ । यो नयाँ खेल होइन तर चर्चाको हिसाबले नेपालीलाई नौलो खेल जस्तो लागेको मात्रै हो ।

संघले विगतदेखि नै निरन्तर कार्यक्रम र प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । सञ्चारमाध्यमले पनि फुटबल र क्रिकेटलाई जस्तो स्थान दिएको देखिँदैन । एसिया तथा विश्व रग्बीमा पनि निरन्तर ठुल्ठूला प्रतियोगिताहरू भइरहेका हुन्छन् । तर त्यो नेपाली खेल समर्थकमाझ पुग्न सकेको छैन । त्यसको प्रमुख कारण भनेको नेपालमै रग्बीको प्रचारप्रसार राम्रोसँग नहुनु हो । अब हामी फुटबल र क्रिकेटजस्तै यो खेललाई नेपाली समर्थकमाझ परिचित बनाउने उद्देश्यले लागिपरेका छौं ।’

स्थापनाको दुई दशकपछि मात्र नेपालले पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा सहभागिता जनाएको देखिन्छ । नेपालले सन् २०१५ देखि लगातार एसियन च्याम्पियनसिपमा सेभेन-ए-साइडतर्फ सहभागिता जनाउँदै आइरहेको छ । बंगलादेशमा सम्पन्न मैत्रीपूर्ण खेलसँगै नेपालले पनि फिप्टिन्सतर्फ डेब्यु गर्यो । यो नेपाली रग्बीका लागि कोसेढुंगा साबित भएको महासचिव घिमिरे बताउँछन् ।

‘हामीले विगतबाटै सेभेन्सतर्फ प्रतिस्पर्धा गरिरहेका थियौं । यसै वर्ष फिप्टिन्सतर्फ डेब्यु गरेका छौं,’ घिमिरेले भने, ‘अब हामी दुवै संरचनालाई एकसाथ अघि बढाउँछौं ।’ उनले विगतबाटै स्कुल कमिसनमार्फत ग्रासरुट कार्यक्रमअन्तर्गत टच रग्बी सञ्चालन गरिरहेका जानकारी गराए । यस कार्यक्रमलाई भाविष्यमा पनि निरन्तरता दिइनेछ । 

‘पूर्वाधार अभावका कारण सहज रूपमा अभ्यास र प्रतियोगिता गर्न गाह्रो भइरहेको छ । मुख्यतः मैदान नै छैन,’ घिमिरेले मैदान अभाव दर्शाए ।

वागमती प्रदेश सरकारले रंग्बीलाई भक्तपुरका चाँगुनारायण नगरपालिका-६ मा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन ४० लाख रुपैयाँ दिएको छ । उक्त मैदान निर्माणको डिपिआर कार्य अन्तिम चरणमा छ । युवा तथा खेलकुद मन्त्रालयले पनि यस वर्षको बजेटमा रग्बीको अन्तर्राष्ट्रिय स्टेडियम निर्माणका लागि एक करोड रुपैयाँ छुट्याएको छ । अहिले भने राज्य रग्बी खेलको विकासमा गम्भीर बनिरहेको देखिन्छ ।

चीनमा अर्को वर्ष हुने एसियाली खेलकुदमा रग्बीको सहभागिता गराउने सदस्यसचिवको आश्वासनले नेपाल रग्बी संघ हौसिएको छ । घिमिरे भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव टंकलाल घिसिङ (रग्बीका पूर्व अध्यक्ष) ले चीनमा हुने १९औं एसियाडमा टिम इभेन्टतर्फ रग्बीको सहभागिताको सम्भावना रहेको बताउनुभएको छ । उहाँले हाइपर्फमेन्स कमिटीमा २३ खेलको मात्र प्रशिक्षण भइरहेकामा टेनिस र स्क्वाससँगै रग्बीलाई पनि समावेश गर्ने आश्वासन दिनुभएको छ । यसले हाम्रो हौसला बढेको छ ।’

साथै १४औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि रग्बी समावेश गर्ने सैद्धान्तिक सहमति भइरहेको छ । त्यसैले सागको पहिलो सहभागिता पदक जितेर सफल पार्ने रणनीति रग्बीको छ । त्यसबाहेक निरन्तर राष्ट्रिय टोलीका साथै विभिन्न उमेर समूहको प्रशिक्षणलाई निरन्तरता दिने र छिटोभन्दा छिटा नेपालीमाझ परिचित हुने लक्ष्य नेपाली रग्बीले राखेको छ ।