स्क्वास

फैलन नसकेको स्क्वास

र्‍याकेट गेम्सको सबैभन्दा पुरानो विधा भए पनि स्क्वास खेलले विश्व खेलकुदमा आफूलाई अझैसम्म चर्चित विधाको रूपमा उभ्याउन सकेको छैन ।

१९औं दशकमा सुरु भएको स्क्वास खेल र्‍याकेट गेम्सका अन्य विधा ब्याडमिन्टन र टेनिसले फड्को मार्दा यो खेल भने अझै आफ्नो पहिचान स्थापित गर्नमै संघर्षरत छ ।

बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारि शमशेर राणाले यो खेल नेपालमा भित्र्याएका थिए । यद्यपि तत्कालीन समयमा क्लबका सदस्य र विदेशी कूटनीतिज्ञले दैनिक व्यायामको रूपमा मात्र स्क्वास खेल्थे ।

विश्वमा स्क्वास खेलको अवस्था जस्तो छ, नेपालमा पनि त्यो भन्दा भिन्न छैन । सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रिएको थियो ।

बेलायतका आर्टिटेक्चर जोन स्यान्डीसँग मिलेर मुरारि शमशेर राणाले यो खेल नेपालमा भित्र्याएका थिए । यद्यपि तत्कालीन समयमा क्लबका सदस्य र विदेशी कूटनीतिज्ञले दैनिक व्यायामको रूपमा मात्र स्क्वास खेल्थे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता नभए पनि दरबार, विभिन्न होटल र त्रिभुवन आर्मी क्लबमा भने स्क्वास कोर्ट निर्माणसँगै यो खेल सुरु भइसकेको थियो ।

सन् १९८८ मा नेपाल स्क्वास तथा र्‍याकेट संघ राखेपमा दर्ता भयो । राखेपबाट राष्ट्रिय संघको मान्यता पाए पनि स्थापना भएको ३४ वर्ष बित्दा समेत यो खेलले नेपालमा आफ्नो विशेष पहिचान बनाउन सकेको छैन ।

जनरल भरतकेशर सिंहको नेतृत्वमा पहिलोपल्ट स्क्वास संघ गठन भएको थियो । स्थापनाको ३४ वर्ष बित्दा समेत आमनेपाली समर्थकमाझ स्क्वास पुग्न सकेको छैन ।

‘सन् २०००–०१ मा हामीले संघकै हाताभित्र कोर्ट निर्माण गरेका थियौं । मलाई अझ पनि याद छ, त्यो समयमा दरबारभित्रै दुइटा स्क्वास कोर्ट थियो ।’

स्क्वास सामान्य खेल भएको हो । इन्डोर हलभित्र खेलिने भएकाले यो खेल जुनसुकै मौसममा जतिबेला पनि खेल्न सकिन्छ । यति सहज खेल भए पनि स्क्वासलाई आफूहरूले आम समर्थकमाझ पुर्याउन नसकेको यथार्थ संघका महासचिव सुरेश गुरुङ स्वीकार्छन् ।

‘हामीले आफ्ना सदस्यहरूबाट निश्चित रकम उठाएर स्क्वास संघको एकेडेमी भवनमा स्क्वास कोर्टको निर्माण गरेका हौं,’ महासचिव गुरुङले भने, ‘सन् २०००–०१ मा हामीले संघकै हाताभित्र कोर्ट निर्माण गरेका थियौं । मलाई अझ पनि याद छ, त्यो समयमा दरबारभित्रै दुइटा स्क्वास कोर्ट थियो ।’

उनले एउटा प्रसंग सुनाए, ‘पाँचौं राष्ट्रिय खेलकुदको तयारी चलिरहेको थियो । तत्कालीन युवराज दीपेन्द्र र पारस शाह खेलस्थल निरीक्षणका लागि स्क्वास कोर्टमा पनि आउनुभएको थियो । दीपेन्द्रले आफूले स्क्वास नखेलेको धेरै समय भइसकेकाले र्‍याकेट नै खराब भइसक्यो होला भनेर मजाक गर्नुभएको थियो । त्यही दिन राति दरबार हत्याकाण्ड भयो । स्क्वास खेलको विकासमा युवराज सकारात्मक हुनुहुन्थ्यो । त्यो घटनापछि यो खेलको विकासमा केही ब्रेक लागेको स्थिति बन्यो ।’

पाँचौं खेलकुदबाट नवौंसम्म आइपुग्दा यो खेल निरन्तर राष्ट्रिय खेलुकदमा समावेश छ । सन् १९९१ मा व्यक्तिगत रूपमा पाकिस्तानमा सम्पन्न पहिलो एसियन इन्डिभिजुअल च्याम्पियनसिपमा नेपालबाट सञ्जिव राजभण्डारी, अनिलबहादुर सिंह र सत्यनारायण श्रेष्ठले भाग लिएका थिए ।

दक्षिण एसियाली खेलकुदमा भने नेपालले पाकिस्तानमा सम्पन्न सन् १९८९ को चौथो साफ खेलकुद (हाल साग) मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसयता लगातार पाँचौंदेखि आठौंसम्म स्क्वास सागमा समावेश गरिएन ।

२००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपालले पदक जितेको हो । महिलातर्फ टिम इभेन्टमा कांस्य जित्दा भावना सुनुवार र कुष्णा थापा खेलाडी थिए ।

सन् २००४ मा पाकिस्तानमै सम्पन्न नवौं सागमा भने नेपालका सुरेश गुरुङ र हीरा थापामगरले टिम इभेन्टबाट देशलाई कांस्य पदक जिताएका थिए ।

महिलातर्फ भने सन् २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपालले पदक जितेको हो । महिलातर्फ टिम इभेन्टमा कांस्य जित्दा भावना सुनुवार र कुष्णा थापा खेलाडी थिए ।

११ र १२औं  सागसम्म स्क्वासतर्फ नेपालको उपस्थिति सहभागितामै सीमित बन्यो । सन् २०१९ मा नेपालमै सम्पन्न १३औैं सागमा भने नेपालले पुरुष र महिलातर्फ टिम इभेन्टमा कांस्य पदक जितेको थियो । नेपालका अमृत थापामगर, सुजन ज्वारचन, अमिर ब्लोन र दीपक थापाले कांस्य जितेका थिए भने पदक जित्नमा महिलातर्फ कृष्णा थापा र भावना सुनुवार थिए ।

महासचिव गुरुङ स्क्वासको सुरुआती दिन भन्छन्, ‘यो खेल नेपालका लागि नौलो थियो । त्यसैले खेलाडीहरू पनि थिएनन् । व्यावसायिकभन्दा पनि दैनिक व्यायामका लागि यो खेल खेल्नेको संख्या धेरै थियो । हामीले स्क्वासको विकास होस् र खेलाडीको खेलप्रति आकर्षण बढोस्, नयाँ खेलाडी आऊन भन्ने उद्देश्यले सदस्यतावापत निश्चित रकम लिएर दैनिक प्रशिक्षण व्यवस्था मिलायौं ।’

उनले ग्रासरुट कार्यक्रमका लागि भन्दै जुनियर खेलाडीलाई नि:शुल्क प्रशिक्षण व्यवस्था मिलाएको बताए । महिलातर्फकी नेपाल च्याम्पियन रहेकी शीर्ष खेलाडी कृष्णा थापा र दोस्रो वरीयताका अमृत थापा त्यही ग्रासरुटबाट उत्पादन भएका खेलाडी हुन् । यद्यपि विद्यालयको पठनपाठनको समय नमिलेका कारण ग्रासरुटमा सहभागी भएका धेरै बालबालिकाले प्रशिक्षण छोड्नुपरेको महासचिव गुरुङ बताउँछन् ।

स्क्वास खेल्न सहज खेल भएको र अन्तर्राष्ट्रिय स्तरमा पनि पदक ल्याउने प्रचुर सम्भावना रहे पनि सम्बिन्धत निकायले उचित ध्यान नदिँदा स्क्वासको दायरा फराकिलो हुन नसकेको उनको ठहर छ ।

‘हामीलाई अन्य खेलजस्तो विश्व र्‍याकेट एन्ड स्क्वास फेडरेसन र एसियन स्क्वास संघबाट आर्थिक सहायता आउँदैन,’ महासचिव गुरुङले भने, ‘जे जति खेल संरचना बनेका छन्, प्रशिक्षण सञ्चालन भइरहेका छन् । त्यसको सबै रकम संघ आफैंले व्यवस्था गर्नुपरेको छ ।’

राष्ट्रिय खेलकुद परिषदले पनि स्क्वासलाई उचित ध्यान नदिएको उनको गुनासो छ । त्यसले गर्दा आफूहरूले काठमाडौंबाहिर पनि स्क्वासलाई लैजाने प्रयास गरे पनि आशातीत सफलता नमिलेको उनी बताउँछन् ।

उनले भने, ‘हामीले यस खेललाई काठमाडौंबाहिर विस्तार गर्ने भनिए पनि योजना कार्यान्वयन गर्न सकेका छैनौं, दुई जिल्लामा मात्र स्क्वास संघ बनेको छ । पोखरा र विराटनगरमा स्क्वासको संगठन विस्तार भएको छ र त्यहाँ विभिन्न गतिविधि पनि हुँदै आएका छन् ।’

अब स्क्वासले पनि प्रादेशिक संरचनामा जाने सोच बनाएको छ । महासचिव भन्छन्, ‘हालै नयाँ खेलकुद ऐन आएको छ । सोही ऐनअनुसार अब हामी पनि प्रादेशिक संरचनामा जाने योजनामा छौं ।’