रहन्तकेशर सिंह

स्वर्ण जितेर राष्ट्रिय गान गाउने अरहन्तको चाहना

काठमाडौं । पछिल्लो वर्ष २०७८ मा कोभिड १९ को महामारीका कारण अन्य क्षेत्रझै खेलकुद पनि निकै मारमा पर्यो । जसका कारण खेलकुदका गतिविधि शून्य भए । घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद कम आयोजना भए । त्यसको मार नेपालमा नपर्ने कुरै भएन ।

फुटबल, क्रिकेटले त जसोतसो ‘कमब्याक’ गरे । तर चर्चामा नआएका र कमै प्रतियोगिता हुने खेलहरू भने अझै उठ्न नसक्ने अवस्थामा पुगे ।

यस्तै अवस्थामा पुगेको थियो स्क्वास । नेपाल सरकारको प्राथमिकता कमै पर्ने स्क्वास खेललाई नेपाल स्क्वास र्याकेट संघले समेत चलायमान बनाउन सकेन ।

यद्यपि गत साता चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सकिएको छ । नेपाल स्क्वास र्याकेट संघले कोभिडपछि आयोजना गरेको प्रतियोगिता यही थियो । प्रतियोगितामा पुरुषतर्फ विजेता बने २४ वर्षीय अरहन्तकेशर सिंह ।

शीर्ष वरीयताका खेलाडी अरहन्तले फाइनलमा प्रतिस्पर्धी अमृत थापामगरलाई ११-४, ११-७, ११-६ को सोझो सेटमा पराजित गरेका थिए ।

हार-जित आफ्नो ठाउँमा छ । प्रतियोगिता फर्किएको छ । यसैमा खुसी छन् अरहन्त । ‘कोभिडका कारण फिटनेसमा समस्या थियो । पछिल्लो समय ओलम्पिक डेमा मात्रै खेलेका थियौं । कोभिडकै कारण प्रतियोगिता हुन सकेन । जित्दा जहिल्यै पनि खुसी लाग्छ । तर, यसपटक फिजिकल रूपमा बलियो नहुँदा पनि जित निकाल्न सक्दा अलि बढी खुसी छु’, अरहन्त भन्छन् ।

अरहन्तले स्क्वासमैत्री परिवारमा जन्म लिए । जसका कारण खेल्नमा उनलाई कहिल्यै कठिनाइ परेन । परिवारमा हजुरबुबा र बुवाले नै स्क्वास खेल्ने हुँदा सानैदेखि उनी यसैमा रमाउन पुगे । त्यसैले एक स्क्वास खेलाडीमा हुनुपर्ने गुण अरहन्तमा भरपुर छ ।

‘हजुरबुबा र बुबादेखि नै हाम्रो घरमा स्क्वास खेलको माहोल छ । त्यसैले खेल्न कहिल्यै पनि गाह्रो भएन । स्कुल पढ्दादेखि नै यसैमा ध्यान बढ्दै गयो,’ लगातार तीन पटक धनलक्ष्मीको उपाधि जितेका अरहन्त सुनाउँछन् ।

अरहन्तले ११-१२ वर्षको उमेरमै राम्रोसँग स्क्वास खेल्न थालिसकेका थिए । विद्यालय शिक्षा पूरा गरे । त्यसपछि उच्च शिक्षासँगै खेल कौशल निखार्न बेलायत पुगे । उनले बर्मिङघमको विक्लेफमा अध्ययनसँगै स्क्वास खेललाई नै प्राथमिकतामा राखे ।

जोनी हार्टफस्ट प्रशिक्षकबाट विक्लेफ स्कुलमा विश्वकै राम्रा स्क्वास खेलाडी उत्पादन हुँदै आएका छन् । त्यही स्कुलमा अरहन्तले अवसर पाएका थिए । जहाँ आफू १५ वर्ष हुँदा १३ वर्षको प्रतिद्वन्द्वीसँग पराजित भएको अझै पनि अरहन्तलाई याद छ । जुन हारबाट शिक्षा लिँदै अरहन्त अहिले कुशल खेलाडी दरिएका छन् ।  

‘म १५ वर्षको हुँदा १३ वर्षकाले जितिदियो । त्यसपछि मानसिक रूपमा दबाब त आउने नै भयो । तर त्यसले सकारात्मक ऊर्जा आइरह्यो । मैले गलत गरे कि ठीक गरें, कुनै दिन अरूसँग तुलना गरिनँ र हरेक दिन आफैंसँग प्रतिस्पर्धा गरें । त्यसले पढाइ र स्क्वास दुवै राम्रो गर्न सफल भएँ । ब्याचलर पनि त्यहीं पूरा गरें,’ अरहन्त प्रेरणा बनेको क्षण सुनाउँछन् ।  

नेपाललाई प्रतिनिधित्व गर्दै अरहन्तले पहिलो पटक सन् २००६ मा दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए । त्यसमा प्रतिद्वन्दी थिए भारतका सौरभ भुसाल । जसले भर्खरै मात्रै इंग्ल्यान्डमा आयोजना भएको कमनवेल्थमा स्वर्ण पदक जितेका थिए ।

‘विश्वका उत्कृष्ट खेलाडीसामु खेल्न जहिल्यै पनि गाह्रो हुन्छ । त्यहाँ पनि भएको थियो । तर, कोर्टमा छिरेपछि त्यो भावना नै आएन । मैले भारतीय खेलाडीलाई हराएँ,’ यस्तो रह्यो उनको पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव । यद्यपि क्वाटरफाइनलमा भने उनी बंगलादेशका खेलाडीसँग हार्न पुगे । त्यसपछि सन् २०१९ मा भएको १३औं सागमा भने टिम इभेन्टमा अरहन्तले कांस्य जितेका थिए ।

नेपालमा स्क्वासको राम्रो सम्भावना हुँदाहुँदै पनि राज्यले ध्यान नदिँदा राम्रा खेलाडी गुमाउनुपरेको र उत्पादनसँगै पदक हासिल गर्न नसकेको अरहन्तको बुझाइ छ ।

‘म त परिवारिक माहोल भएकाले स्क्वास खेले । तर, नयाँँ खेलाडीका लागि खेल्ने वातावरण छैन । राज्यले साथ दिए यो खेल निकै राम्रो छ । अन्य खेलमा भन्दा यसमा पदक जित्न सजिलो छ ।’

राज्यले सहयोग गरे पछिल्ला वर्षमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सक्ने दाबी गर्छन् उनी । ‘राज्यले सहयोग र साथ दिए अनि संघ र खेलाडीले मिहिनेत रहिरहे सन् २०२८ सम्म विश्व चर्चित खेलाडी उत्पादन गर्न सक्छौं । विश्वास लाग्छ पदक पनि आउँछ ।’

यतिबेला अरहन्त चीनमा आयोजना हुने १९औं एसियन गेम्स र नवौं राष्ट्रिय खेलकुदसहित १४औं सागको तयारीमा छन् । तर सरकार र खेलकुद सरोकारवालाले खेलाडीप्रति गर्ने व्यवहारका कारण उनी निकै चिन्तित र दुखित छन् ।

‘यो खेल खेलिरहन निकै गाह्रो छ । मेडल पाएपछि मात्रै केन्द्रमा परिन्छ । मेडल कसरी हात पारिन्छ त्यता कसैको ध्यान जाँदैन । मेडल गेममा जित्ने हैन । प्रशिक्षणका कारण जित्ने हो । प्रशिक्षण राम्रो भयो भने गेममा रिजल्ट राम्रो आउँछ । तर त्यता कसैको ध्यान जाँदैन,’ उनले भने ।

यी त भए दुःखका कुरा । अब अरहन्तलाई मन छ देशका लागि स्वर्ण पदक जिताउने  । उनी चाहन्छन् स्क्वासमा देशलाई स्वर्ण पदक दिलाउँदै राष्ट्रिय गान गाउने ।

‘२७ वर्षसम्म खेल्छुहोला । मेरो खेल जीवनमा एउटै लक्ष्य छ, देशलाई स्वर्ण पदक जिताउने र नेपाली झण्डालाई शिरमा राखेर राष्ट्रिय गान गाउन मन छ । यो सम्भव छ । तर असम्भव पनि । सम्भव बनाउन मैले अहिलेदेखि नै त्यसका लागि तयारी गर्नुपर्छ,’ अरहन्त लक्ष्य सुनाउँछन् ।