ओलम्पिक दिवस

ओलम्पिक दिवसमा कार्यक्रम

काठमाडौं । ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट गरेका थिए भने ओलम्पिक डे २०२१ को स्मारिका पनि विमोचन गरिएको थियो ।

जुडो, बक्सिङ, फेन्सिङ र करातेका खेलाडीले ‘डेमोस्ट्रेसन’ प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुती थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेका अवसरमा कमिसनले गरेको विभिन्न कार्यक्रम बारे जानकारी गराएका थिए । उनले सातै प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत विभिन्न संस्थाले विभिन्न समयमा दुई हजार आठ सय १७ कार्यक्रम आयोजना गरेको जानकारी गराए । उनले सम्पूर्ण कार्यक्रममा दुई लाख नौ हजार तीन सय ५० जनाको संलग्नता रहेको अवगत गराए ।