४४औं चेस ओलम्पियाड छनोट

अनिसा र मिलनको एकल अग्रता

काठमाडौं । भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले चार चरणसम्म सत प्रतिसत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कडेललाई पराजित गरिन् ।

खुलातर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । मिलनले चौथो चरणमा मनिष हमाललाई हराए । ३ अंक सहित सुरबीर लामाले मिलनलाई पछ्याइरहेका छन् । क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ । चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए । चौथो चरणमा नै रुपेस र क्षितिज बीच बराबरी भएको हो ।

महिलातर्फ कृत्तीसरा अधिकारी र बिनिता कपालीले ३ अंक सहित अनिसालाई पछ्याइरहेका छन् । चौथो चरणमा बिनिताले पूर्णीमा गुरुङ तथा कृत्तसराले पूजा भण्डारीलाई हराए । यसैगरी शान्ती धिमालको २.५ अंक छ ।  

काठमाडौंको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरीयताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।