नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद: पोखरामा छैन उत्साह

तस्वीर: सुदर्शन रन्जित, पोखरा ।

पोखरा। अन्यथा केही नभए आजको मितिले ठीक ३० दिनपछि नवौं बृहत राष्ट्रिय खेलकुद महोत्सव सुरु हुनेछ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका सबै ११ जिल्लामा गरिने लक्ष्य रहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत केही खेल पूर्वाधार अभावका कारण काठमाडौंमा पनि हुने निर्णय भइसकेको छ । ३८ खेल समावेश गरिएको नेपाली खेलकुदको सबैभन्दा ठूलो मेलाका लागि खेलतालिका सार्वजनिक भइसकेको छैन ।

तथापि फुटबल, क्रिकेटलगायत लामो समय लाग्ने केही खेल जेठ २२ मा पोखरा रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुअघि नै सुरु भइसक्ने छ । तत्कालीन राजनीतिक संरचनाअनुसार प्रत्येक विकास क्षेत्रमा दुई वर्षको अन्तरमा पालैपालो राष्ट्रिय खेकलुद आयोजना गरेर पूरा देशैभर भौतिक पूर्वाधार बनाउने र खेल संस्कार स्थापना गर्ने उद्देश्यसहित २०३८ सालमा यो महोत्सव सुरु भएको थियो ।

राजनीतिक अस्थिरता र भौतिक पूर्वाधारको कमी तथा नेतृत्वको कमजोर इच्छाशक्तिका कारण राष्ट्रिय खेलकुद सुरु गर्दाको उद्देश्यअनुरुप नियमित हुन सकेन । त्यसैले अहिले भर्खर नेपाली खेलकुदमा राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुगेको छ । नियमित हुन नसके पनि भएका प्रत्येक संस्करण स्थानीय स्तरमा चासो जगाउँदै खेल संस्कार स्थापना र यसैको बहानामा भौतिक पूर्वाधार निर्माणको उद्देश्यमा भने धेरथोर सफल भएकै थियो ।

त्यतिबेला अन्तिम समयमा समापनको दिनमात्र युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार दिँदा गण्डकी निराश भएको थियो । तथापि तीन वर्षअघि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापन समारोहको अवसरमा गण्डकीले नवौं संस्करणको झण्डा बोकेको थियो । झण्डा बोक्दै गण्डकीले अघिल्लो वर्ष नै भव्यतापूर्वक नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वाचा गरेको थियो ।

यसपालि दृश्य फरक छ । हो, यसपालि पनि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद आयोजना गर्न उत्कण्ट इच्छा देखाएको थियो । ६ वर्षअघि तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र (हालको प्रदेश १) मा भएको छैटौं राष्ट्रिय खेलकुद दौरान नै गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) ले आठौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी गरेको थियो ।

त्यतिबेला अन्तिम समयमा समापनको दिनमात्र युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार दिँदा गण्डकी निराश भएको थियो । तथापि तीन वर्षअघि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापन समारोहको अवसरमा गण्डकीले नवौं संस्करणको झण्डा बोकेको थियो । झण्डा बोक्दै गण्डकीले अघिल्लो वर्ष नै भव्यतापूर्वक नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वाचा गरेको थियो ।

तर, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण अघिल्लो वर्ष राष्ट्रिय खेलकुद सम्भव भएन । बितेको वर्ष २०७८ को अन्त्यसम्ममा भए पनि गर्ने योजना महामारी तथा अदालतमा परेको राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव मुद्दाका कारण हुन सकेन ।

अन्ततः चैत ३० गते मन्त्रिपरिषदबाट जेठ २२ देखि २८ सम्म नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गर्यो । तर छोटो समयका कारण यसपालि नवौं राष्ट्रिय खेलकुद स्थापना गर्दाका सबै उद्देश्यबाट विमुख हुने पक्का भएको छ । अर्थात नवौं राष्ट्रिय खेलकुद गर्नका लागि मात्र गरिँदै छ ।

३९ वर्षपछि राष्ट्रिय खेलकुद गण्डकी प्रदेश फर्किंदै गर्दा पोखरामा २०४० सालमा जस्तो तामझाम छैन । मुग्लिनबाट त्रिशूली नदी तर्दै गर्दा यसपालि नवौं राष्ट्रिय खेलकुदको कुनै ब्यानर वा गेट देखिँदैन । पोखरा पुग्दा पनि पर्यटकले गण्डकीमा नवौं राष्ट्रिय खेलकुद हुन लागेको पत्तो पाउँदैनन् ।

हो, यसपालि ३९ वर्षअघि जस्तो लोक कवि अली मियाँको ‘हिमालमुनि चौंरीगाई, पोखरेली माया सबैलाई’ बोलको गीत पनि घन्किइरहेको छैन । दोस्रो राष्ट्रिय खेलकुदभन्दा दुई÷तीन महिनाअघि मियाँ आफैंले रचना गरेको त्यो गीत पोखराका चोकचोकमा गाउँदै हिँड्ने गरेको स्मरण पाका पोखरेली खेलकर्मीको मानसपटलमा ताजै छ ।

सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली भन्छन्, ‘यसपालि चार दशकअघिको जस्तो तामझाम छैन । तयारीका लागि समय नै पुगेन । दोस्रो राष्ट्रिय खेलकुद पोखरामा हुँदा एक वर्षअघिदेखि ठूलै हल्लाखल्ला थियो । हामी स्कुलबाटै खेलकुदमा आउँथ्यौं । सानै हुँदाको त्यो माहोल यसपालि पनि होला भन्ने थियो, तर सरकारले तयारीका लागि छोटो समय राखेकाले प्रतियोगिता सोचेजस्तो नहुने भयो ।’

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीवकुमार गुरुङ (दीपक मनाङ्गे) पनि यो भनाइसँग सहमत छन् । उनी खेलकुदीय दृष्टिले नवौं राष्ट्रिय खेलकुदको कुनै अर्थ नरहेको विचार राख्छन् । बरू उनको विचारमा यसले पोखराको पर्यटनलाई भने टेवा पुर्याउने छ ।

‘हामी कुनै पनि हालतमा तयार छैनौं । केन्द्रले आफ्नो पारामा मनलाग्दी निर्णय गर्दै गएको छ । यो खेलकुदका लागि कुनै काम छैन, पर्यटनका लागि हुनसक्छ,’ मन्त्री गुरुङले खेलाडीसँग भने, ‘हामीमात्र होइन, देशैभरका खेलाडी पनि यसका लागि तयार छैनन् । गाउँगाउँबाट छनोट गर्नुपर्ने थियो । तर गाउँमा अहिले खेलकुद छैन । गाउँमा अहिले स्थानीय निकायको चुनाव छ । हामी पनि त्यही चुनावमा छौं । पूरा देश नै अहिले खेलकुदमय नभई चुनावमय छ ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको भनाइ भने फरक छ । पोखरा नवौं राष्ट्रिय खेलकुदका लागि पूर्ण रूपमा तयार रहेको बताउने उनले भव्यतापूर्वक बृहत खेल महोत्सव सम्पन्न गर्ने बताए ।

पोखरेली खेलकर्मीहरू मिश्रित भावनाका बीच रुमल्लिइरहेका बेला भूतपूर्व खेलाडी मञ्चका द्वितीय उपाध्यक्ष एवं महिला राष्ट्रिय टोलीका प्रथम प्रशिक्षक खेम गुरुङ राष्ट्रिय खेलकुदको मिति तोकिँदा उत्साही छन् । भन्छन्, ‘पोखरा आफैंमा खेलकुदको राम्रो संस्कार भएको ठाउँ हो । त्यसमा राष्ट्रिय खेलकुदले अझै उर्जा थप्नेछ ।’

सहारा क्लबका अर्का पूर्वअध्यक्ष वीरभद्र आचार्य छोटो समयको बीचमा राष्ट्रिय खेलकुदका लागि जिल्ला हुँदै प्रदेशको छनोट गरिँदा उच्चस्तरको प्रतिस्पर्धा हुनेमा शंका व्यक्त गर्छन् । राष्ट्रिय खेलकुद सुरु गरिँदाको अर्को मुख्य उद्देश्य थियो, ‘खेलाडीले नियमित रूपमा कडा प्रतिस्पर्धाको मौका पाउन । सधैं राष्ट्रिय स्तरका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार अवस्थामा रहून् ।

‘तर झारो टार्ने पारामा राष्ट्रिय खेलकुद गर्दा प्रतिस्पर्धा राम्रो हुँदैन । जसबाट खेलाडीले प्रतियोगिता खेल्दा पाउने स्वाभाविक फाइदा नपाउन सक्छन् । यसो भयो भने करोडौं रुपैयाँ खर्च गर्नुको औचित्य प्रमाणित हुँदैन,’ उनले थपे ।

तस्वीर: सुदर्शन रन्जित, पोखरा ।