खेलाडीलाई सहयाेग

खेलाडीलाई आर्थिक सहयोग

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरियो ।

भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आइटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, करातेकी कोपिला बिष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरे । केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सिमा र कोपिलालाई घुँडामा चोट तथा दीपकलाई काँघको समस्या छ ।

कोषका अध्यक्षसमेत रहेका राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । कोषका सदस्यसचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो ।

सदस्यसचिव घिसिङले सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउदै कोषको आयातन बढाउनु पर्नेमा जोड   दिए ।

‘सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाचो छ,’ सदस्यसचिव घिसिङले भने, ‘कोषको आयातन बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्छु ।’