नेपालमा रग्बी

नवौं राष्ट्रिय खेलकुद: रग्बीको रौनक

फुटबल, क्रिकेट, बास्केटबल र भलिबललगायत खेलसँग कृष्ण थापा राम्रै जानकार थिए । स्कुल–कलेजमा आफैँ पनि प्रतिस्पर्धामा उत्रिइरहेका हुन्थे । तर, उनलाई रग्बी भन्ने खेलको नाम सुन्नुबाहेक अरू कुनै जानकारी थिएन ।

नेपाल कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययन गरिरहँदा ८ वर्षअघि कृष्णलाई साथी पवन कार्कीले नेपालमा नयाँ खेल भित्रिएको र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडी छनोट भइरहेको झस्स सुनाए । जिज्ञासु स्वभावका कृष्ण केही साथी लिएर त्यो खेलबारे बुझ्ना रंगशाला हानिए । त्यहाँ धमाधम खेलाडी छान्ने काम भइरहेको थियो । खेल थियो रग्बी । यो खेलबारे उनी पूर्ण रूपमा अनभिज्ञ थिए । तैपनि दोस्रो दिन उनी पनि छनोटमा सहभागी भए । छनोटमा आउने सबै उनीजस्तै रग्बीका लागि नौला पात्र थिए । त्यसैले त ‘स्पोर्टी’ कृष्णलाई पहिलो प्रयासमै नयाँ खेल रग्बीको राष्ट्रिय टोलीमा ठाउँ खोज्न कठिन भएन ।

कृष्ण थापा पनि अब राष्ट्रि«य खेलाडी भए । नवीन गिरी नेपाली राष्ट्रिय रग्बी टोलीको कप्तान भए भने कृष्ण उपकप्तान । उनले सन् २०१८ देखि नेपाली रग्बी टोलीको कप्तानी सम्हालिसकेका छन् । तर उनलाई आफू पनि राष्ट्रिय खेलाडी हुँ भन्ने गौरवबोध भने खेल्न थालेको झन्डै आठ वर्षपछि मात्र जुरेको छ ।

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुले पनि देशभित्र यो खेलले मूलधारको मान्यता नपाउँदा कृष्ण र उनका साथीहरूको मन कुँडिने गरेको थियो । देशमा रग्बी खेल भित्रिएको २७ वर्षपछि यसपालि राष्ट्रिय खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुदमा यो खेल समावेश गरेको छ । जसले कृष्णजस्ता रग्बी खेलाडीको मनोबल उकास्ने काम गरेको छ ।

‘हामीले संघबाट आयोजना हुने राष्ट्रिय तथा अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छौं । तर देशभित्र मूलधारको खेलमा मान्यता नपाउँदा दुःख लाग्थ्यो । अहिले नवौं बृहत राष्ट्रिय खेलकुदमा रग्बी पनि समावेश गरेपछि हाम्रो खेलले मान्यता पाएको महसुस गरेका छौं,’ कृष्ण भावुक भए, ‘हामीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि खेल्ने हो । तर यस खेलका बारेमा समर्थकलाई बिरलै थाह होला । यहाँ फुटबल, क्रिकेट जस्ता खेल र तिनका खेलाडीलाई बढी प्राथमिकता दिइन्छ । अब राष्ट्रिय खेलकुदमा समावेश गरिएपछि रग्बीको पनि लोकप्रियता बढ्ने छ ।’

लामो समयको अन्योल चिर्दै दुई साताअघि नवौ राष्ट्रि«य खेलकुद आयोजना हुने मिति सार्वजनिक भएको छ । रग्बी संघका पूर्वअध्यक्ष टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव भएको फाइदा यो खेललाई स्वाभाविक रूपमा मिल्यो ।

जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक रग्बी खेल समावेश हुने भएको छ ।

तर, राष्ट्रिय टोलीका कप्तान कृष्ण रग्बी अध्यक्ष नै परिषदको सदस्यसचिव भएकै कारण मात्र रग्बी राष्ट्रिय खेलकुदमा समावेश भएको तर्कसँग विमति जनाउँछन् । पछिल्लो एक दशक घिसिङको नेतृत्वमा रग्बीले देशभित्र गतिविधिलाई व्यापकता लिँदै आफूलाई राष्ट्रिय खेलकुदको हकदारका रुपमा उभ्याएको उनको दाबी छ ।

२०७२ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलका रूपमा समावेश गरिए पनि आठौं राष्ट्रिय खेलकुदमा भने रग्बी थिएन । २०७५ मा मध्यपश्चिममा भएको आठौं संस्करणबाट रग्बी हटाइनुमा कृष्ण नेपाली खेलकुदभित्रको राजनीतिलाई कारक मान्छन् ।

‘रग्बी नेपालमा २०५२ सालमै भित्रिए पनि लामो समयसम्म यो खेलको कुनै गतिविधि भएन । २०६८ सालमा संघ पुनर्गंठन भएर टंकलाल घिसिङले नेतृत्व लिएपछि भने यो खेलले गति लिन थाल्यो । समर्थक र व्यावसायिक प्रतिष्ठानलाई यो खेलबारे जानकारी छैन । त्यसैले सञ्चारमाध्यममा पनि हामी प्राथमिकतामा पर्दैनौं,’ कृष्ण भन्छन्, ‘तर, पूर्वअध्यक्ष घिसिङले आफ्नै प्रयासमा प्रतियोगिताहरू गर्ने र पुरुष तथा महिला दुवै टोलीलाई निरन्तर अन्तर्राष्ट्रिय सहभागिताको अवसर दिलाउनुभयो । यो खेललाई जीवन्त राख्नमा उहाँको ठूलो योगदान छ ।’

संघका पूर्वअध्यक्ष भएको नाताले रग्बीप्रति अभिभावकीय भूमिकामा रहेका घिसिङ यो खेलप्रति नरम हुनुलाई स्वाभाविक मान्ने कप्तान कृष्ण गतिविधिका हिसाबमा अन्य खेलभन्दा आफूहरू अगाडि रहेको दाबी गर्छन् । सरकार तथा प्रायोजकको साथ नपाउनाका बावजुद रग्बीले नियमित अभ्यास र प्रतियोगिताहरू गरिरहेका कारण राष्ट्रिय खेलकुदमा स्वाभाविक हकलाग्ने उनको बुझाइ छ ।

‘सातौं संस्करणमा प्रदर्शनी खेलका रूपमा सहभागी भएपछि अर्को संस्करणमा हामीले पदकका लागि प्रतिस्पर्धा गर्न पाउनुपथ्र्यो । तर नेपाली खेलकुदको राजनीतिका कारण हामी सिकार भयौं । जसले रग्बी परिवारलाई ठूलो पीडा भएको थियो,’ उनले थपे, ‘अब राष्ट्रिय खेलकुदमा समावेश भएपछि हामीलाई चिनारी मिलेको छ । अब यो खेलले अझ गति बढाउने छ ।’

जावलाखेल, मध्यपुर, टोखासहित अन्य स्थानमा उपलब्ध अन्य मैदानमा अभ्यास तथा प्रतियोगिता गर्दै आएको रग्बी पूर्वाधारमा पछि भए पनि क्षमता र प्रदर्शनको हिसाबमा भने अगाडि रहेको कप्तानको दाबी छ । सरकारबाट आवश्यक संरक्षकत्व प्राप्त भए दक्षिण एसियामा महारथीका रूपमा उदाउन सक्ने सम्भावना नेपाली रग्बीसँग भएको उनको विश्वास छ ।


एसियाली खेलकुद र ओलम्पिकमा समेत समावेश भएका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत अगाडि बढाउन सहज हुने उनको बुझाइ छ ।

‘हामी नेपालमा रग्बीको जग बसाल्न लागिपरेका छौं,’ कप्तान कृष्णले भने, ‘हामीले संघको सहयोगमा विभिन्न क्लबस्तरीय प्रतियोगिता आयोजना गर्दै आएका छौं । नेपालमा यो खेलको निकै राम्रो सम्भावना छ । यस खेलप्रति नयाँ खेलाडीको रुचि बढेको छ ।’