नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

बिहीबार पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका मन्त्री अथकले राष्ट्रिय खेलकुदको तयारीमा जुट्न भनेका हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनकालागि आवश्यक तयारीका सन्दर्भमा जानकारी लिन पोखरा पुग्नुभएका मन्त्री अथकले प्रतियोगिताको मिति तय गर्नेबारे छलफल भइरहेको बताए ।

‘आगामी जेठ दोस्रो साताभित्रै प्रतियोगिता सम्पन्न गर्ने बारे सोचिरहेका छौं’, उनले भने, ‘चैत्रमा विद्यालयस्तरीय परिक्षा संचालन हुने तथा बैशाखमा स्थानिय तहको निर्वाचन हुने भएकाले निर्वाचन लगत्तै प्रतियोगिता संचालन गर्ने गरी छलफल भइरहेको छ ।’

रंगशालाको निरिक्षणका क्रममा पौडी र सुटिङ्गबाहेका सबै खेलहरु रंगशाला हाताभित्रै संचालन गर्न सम्भव देखिएको मन्त्री अथकले बताए । निर्माणाधिन अवस्थामा रहेको पौडी पोखरी निर्माण सम्पन्न हुन अझैं केही समय लाग्ने बताउँदै मन्त्री अथकले वैकल्पीक उपाय खोजेर भएपनि पौडी सहितका सबै खेलहरु पोखरामै संचालन गरिने समेत बताए । 

यस्तै, सुटिङ्गका खेलहरु भने काठमाण्डौंमा संचालन गर्ने तयारी गरीएको उहाँले जानकारी दिए । पोखरामा सबै प्रकारका खेलहरु खेल्न मिल्ने संरचनाहरु तयारी अवस्थामा रहेकाले प्रतियोगिता संचालनकालागि कुनै समस्या नहुने उनको भनाई थियो ।

अनुगमनमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्य सचिव कुलबहादुर थापा लगायत सहभागी थिए ।