गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता

बागमतीका ओमकरलाई दुई स्वर्ण

काठमाडौं । बागमती प्रदेशका ओमरकार सिंहले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगततर्फ दुई स्वर्ण हात पारेका छन् ।

उनले सावर र ईपीतर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपीतर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले प्रतिस्पर्धात्मक खेलमा नेपाली आर्मीका जंग गिरीलाई १०–९ अंकले पराजित गरेका हुन् । निर्धारित समय सम्म दुवैको समान ९–९ अंक भएपछि निर्णयका लागि थप गरिएको १ मिनटमा सिंहले अंक जोड्दै १०–९ अंकका साथ विजयी भएका हुन् । आर्मीका मिन कार्की र बागमतीका भिष्मराज (तार्जन) दाहालले कास्य पाए ।

यस्तै पुरुषकै फ्वाईलतर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेश्रो हुँदै कास्यमा सीमित भए ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र प्रदेश नं. १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबगरि ६ टोलीका एक सय १४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुनेछ ।