एनएनआइपिए

सदस्य–सचिवको टुङ्गो लगाउन एनएनआइपिएको माग

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको टुङ्गो लगाउन माग गरेको छ ।

शुक्रबार एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सदस्य सचिव नहुँदा खेल क्षेत्र ठप्प बनेको र पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद पनि अन्यौलमा बताए ।

कात्तिक १ गते निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्दै मंसिर १३ गते मन्त्रिपरिष्दको बैठकले टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

तर, निवर्तमान सदस्य–सचिव रमेशकुमारले यस बारेमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसको छिनोफानो अझै भएको छैन । जसको कारण नवौं राष्ट्रिय खेलकुदबाट चीनमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुदको छनोटको लागि ढिलो भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरुको उदासिनताका कारण गतवर्ष नै गण्डकी प्रदेशमा हुनुपर्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव अझैसम्म हुन सकेको छैन । र कहिले हुने भन्ने समेत टुंगो छैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतलाई छिटो भन्दा छिटो राखेप सदस्य सचिवको मुद्धाको टुंगो लगाएर नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन संघ आह्वान गर्न चाहन्छ ।’