राखेप

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई राखेप सदस्य सचिवमा नियक्त गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा लगेका थिए ।

कात्तिक एक गते तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालाई बर्खास्त गरेको मन्त्रालयले मंसिर चार गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दर्खास्त आव्हान गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री  गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमल प्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मेलित तीन सदस्यीय छनोट समिती गठन गरेका थिए ।

समितीले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा  कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो ।

समितीले उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतीपछि तीन जनाको नाम मन्त्री गहतराज समक्ष बुझाएको थियो ।

नेपाल सरकारको नियम अनुसार एक जना महिलासहित  तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा समितीले टंकलाल घिसिङ, अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सदस्य सचिवको सपथ ग्रहण मंगलबार मन्त्रालयमा हुने जनाइएको छ ।