खेल प्रशासन

खेलकुदमन्त्रीलाई एनएनआइपिएको आठ बुँदे ज्ञापनपत्र

काठमाडौ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले खेलाडी तथा प्रशिक्षकहरुको उचित कदर नभएको भन्दै खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठसहित खेलाडी तथा प्रशिक्षकको एक टोलीले आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री गहतराजलाई आठ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

संघले जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी तथा पदक विजेतालाई वर्गिकरण गरि सबैका लागी सामाजिक सुरक्षाको व्यवस्थाको नीती नै बनाउनु पर्ने माग गरेकाे छ ।

एनएनआइपिएले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेतालाई तत्काल केहि पुरस्कारको व्यवस्था गरिएपनि  जिवनयापनका लागी सो रकम पर्याप्त नभएको भन्दै सरकारले नियमीत भत्ता उपलब्ध गराउनु पर्ने माग गरेको छ । 

त्यस्तै नयाँ पुस्ताका खेलाडी तथा उनीहरुका अभिभावकहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न,अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाट रोजगारीको व्यवस्था गर्नुपर्ने पनि संघले माग गरेको छ ।

एनएनआइपिएले स्थानीय स्तर देखी अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरि परिचय पत्रको व्यवस्था र पत्र पाएकाहरुलाई निश्चित सहुलियत दिनुपर्ने,अन्तर्राष्ट्रिय पदक विजेताले पहुँच नभएकै कारण केही नपाउने अवस्था रहेकाले उनीहरुलाई उचित सम्मानको व्यवस्था र खेल जिवनपछि स्वदेशमै बस्ने वातावरण निमार्ण गर्न गम्भिर हुुनुपर्ने तर्फ पनि सरकरको ध्यानाकर्षण गराएको हो ।

 एनएनआइपिएले नवौं राष्ट्रिय खेलकुदका लागी तत्काल पहल गर्नुपर्ने तथा कोभिड १९ को महामारीका कारण रोकिएको प्रशिक्षणहरु स्वास्थ्य मापदण्ड पालना गरेर तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ ।