‘ओलम्पिकमा पदक जित्‍ने लक्ष्य राखेको छु’ 

जापानमा हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथ्लेटिक्सका गोपिचन्द्र पार्की अहिले विश्‍व खेलकुदको सबभन्दा ठूलो कुम्भ मेलाका लागि अन्तिम तयारीमा छन् । गत मंसिरमा नेपालगञ्‍जमा सम्पन्‍न नेपालगञ्‍ज म्याराथनको च्याम्पियन बन्दै उनले ओलम्पिक सहभागिता पक्का गरेका थिए । सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ३२ वर्षे धावक पार्की डेढ वर्षअघि नेपालमै सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग)का ५ हजार मिटर दौडका स्वर्ण पदकधारी खेलाडी हुन् । कोभिड १९ महामारीका बीच ओलम्पिकका लागि तयारी गरिरहेका साग स्वर्णधारी पार्कीसँग खेलाडी डटकमले गरेको लकडाउन वार्ताको सम्पादित अंश :

ओलम्पिकको तयारी कस्तो हुँदैछ ?

अत्यन्तै राम्रो र तिब्र गतिमा तयारी भइरहेको छ । ओलम्पिकमा छनोट हुनुभन्दा अगाडि देखि नै म यसको लागि तयारीमा थिए । मैले राखेको लक्ष्य अनुसार तालिम भइरहेको छ । एपिएफको मैदानमा नियमित तालिम गरिरहेको छु । सागपछि निरन्तर रुपमा म अभ्यासमा थिएँ । गतवर्षको लकडाउनमा पनि मैले निरन्तर अभ्यास गरेको थिएँ । यसपाली पनि कुनै दिन रोकेको छैन । 

लामो समयदेखि कोभिड १९ को महामारीले जनजीवन प्रभावित भइरहेको छ । यसले तपाईको तयारीलाई पनि अप्ठेरो पारेको होला नी ?

कोभिड १९ को महामारीले मलाई कुनै अप्ठेरो परेको छैन । तर नेपाल सरकार, राष्‍ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीलगायतका संस्थाहरुले यस्तो कठिन अवस्थामा अभ्यासरत मजस्तो खेलाडीलाई पनि कुनै किसिमको सुविधा दिएको छैन । त्यसबाट दुःख लागेको छ । हाम्रो संगठन सशस्त्र प्रहरी बल र संगठन प्रमूख सैलेन्द्र खनाल सरको विशेष साथ र सहयोगका कारण मलाई तालिम गर्नका लागि धेरै सहयोग पुगेको छ । जसका कारण मैले कुनै पनि दिन तालिम रोक्नु परेको छैन ।

अहिलेसम्म ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता अनुभव बटुल्ने र राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउनेमै सिमित छ । तपाईको लक्ष्य के हो ?

ओलम्पिकमा सहभागिता जनाउने सम्पूर्ण खेलाडीको लक्ष्य भनेको उपाधि नै हो । मैले पनि कम्तिमा पनि कुनै एउटा पदक जित्‍ने लक्ष्य बनाएको छु । वैकुण्ठ मानन्धर गुरुले ३५ वर्षअघि दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेटमा म्याराथन पूरा गरेर कीर्तिमान बनाउनुभएको छ । त्यसलाई तोड्नु पनि मेरो अर्को लक्ष्य हो । अहिलेसम्मकै राम्रो प्रदर्शन गर्ने सोचका साथ तयारी गरिरहेको छु ।

तपाईको लक्ष्यअनुसारको नतिजाको सम्भावना कत्तिको छ ?

मैले जुन तरिकाले तयारी गरिरहेको छु, त्यसबाट मेरो मनोबल उच्च छ । मलाई लाग्छ यसपालीको मेरो सहभागिता देशले गर्व लायक हुनेछ ।

ओलम्पिक आउन अझै केही समय बाँकी छ । यसबीचमा तपाईलाई सरकार, ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र संघले के गरिदिए हुन्थ्यो जस्तो लागेको छ ?

ओलम्पिक भनेको विश्‍व खेलकुदको महाकुम्भ मेला हो । यस्तो मेलामा नेपालको तर्फबाट सहभागिता जनाउन लागेका खेलाडीहरुलाई सरकार, ओलम्पिक कमिटी, राष्‍ट्रिय खेलकुद परिषद, र एथलेटिक्स संघले खेलाडीले पाउनुपर्ने अत्यावश्यक सुविधा दिने तर्फमात्र ध्यान दिए पुग्थ्यो । तर अहिलेसम्म कसैले मतलब सम्म पनि गरेका छैनन ।