सहज जितका साथ लिभरपुल अन्तिम १६ मा 

लन्डन, (खेलाडी)- डिभोक ओरिगी र ताकोमी मिनामिनो चम्किएको दिन लिभरपुल नर्विच सिटीमाथि ३-० को सहज जित हासिल गर्दै इङ्लिस लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

चौथो मिनेटमा मिनामिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा नर्विचले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । क्रिस्टोस जोलिसले पेनाल्टीको अवसर गुमाउदा नर्विच खेलमा फर्कन सकेन ।

५०औं मिनेटमा ओरिगीले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । खेल सकिन १० मिनेट बाँकी रहँदा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभपुलको अन्तिम १६ यात्रा पक्का गरेका थिए ।

लिग कपअन्तर्गत मंगलबार भएका अन्य खेलमा एभर्टनले क्विन्स पार्क रेन्जर्सलाई टाइब्रेकरमा ८-७ ले हराउदै अन्तिम १६ मा स्थान पक्का गर्दा लिड्स युनाइटेडले पनि पेनाल्टी सुटआउटमा फुलहमलाई ६-५ ले हरायो ।