साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप असार ५ बाट बंगलादेशमा

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असारको पहिलो साता बंगलादेशमा सुरु हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले प्रतियोगिताको १४औंं सस्करण असार ५ बाट १८ गतेसम्म गर्न प्रस्ताब गरेको थियो । जसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमति जनाएपछि त्यही मिति टुंगो लागेको हो ।

एन्फाका एक वरिष्ठ पदाधिकारीका अनुसार साफले सहभागी सबै सात देसलाई मिति प्रस्ताब गर्दै सहमति खोजेको थियो । नेपालअघि नै अरु सबै देशले सहमति दिइसकेको बताइएको छ । नेपालमा भने शीर्ष डिभिजनको लिग हुन नसकिरहेका बेला एन्फाले साफ च्याम्पियनसिपको विषयमा निर्णय गर्न सकेको थिएन ।

‘नेपालमा लिग समयमा गर्न सकिरहेका थिएनौं । आन्तरिक समस्याका कारण लिग हुन नसकिरहेका बेला जुन–जुलाईको समयमा साफ च्याम्पियनसिप हुँदा लिगलाई अशर गर्ने चासो थियो । तर अब सबै देशले सहमति जनाइसकेपछि हामीले पनि त्यो समय मान्नुपर्ने भयो,’ एन्फाका एक वरिष्ठ अधिकारीले भने ।

साफ च्याम्पियनसिपअघि नै भारतमा आयोजना हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि पनि नेपाललाई निम्तो आइसकेको छ । दुई देशबीचको सम्बन्धका कारण भारतले आयोजना गर्ने प्रतियोगिता खेल्नै पर्ने बाध्यता हुन सक्ने उनले बताए ।

‘भारतले पनि हामीसँग साफ च्याम्पियनसिप अगाडिका लागि समय मागेको छ । लिग थप प्रभावित होला भन्ने चिन्ता भयो,’ उनले भने ।

एन्फाले फागुन १९ बाट साउनसम्म चल्ने गरि लिग गर्ने बताएको थियो । जसका लागि एन्फाले शुक्रबार लिगको खेल तालिका ‘ड्र’ गरेको छ । तर एन्फाले विगतका वर्षमा जस्तै यसपाली पनि पूरा लिगको ‘ड्र’ गरेन । जसका कारण पनि लिग तोकिएको समयमा सम्पन्न नहुने सम्भावना बढेको छ ।

माल्दिभ्समा गत वर्ष भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।