जेकोको दुई गोलमा इन्टरको फराकिलो जित

मिलान, (खेलाडी)- इडेन जेकोले दुई गोल गरेपछि इटालियन सिरी ‘ए’को खेलमा गए राति इन्टर मिलानले बोलोग्नामाथि ६-१ को प्रभाव जमाएको छ । 

लाउटारो मार्टिनेजले शीर्ष डिभिजनका चार खेलमा चौथो गोल गरेपछि सिमोन इन्जाघीको टोली छैटौं मिनेटमा अघि लागेको थियो । डेन्जेल डुम्फ्रिजको पासमा गोल गर्दे मार्टिनेजले इन्टरलाई लगातार २३औं लिग खेलमा गोल गर्ने कीर्तिमान दिलाए । यस्तो उपलब्धि टोलीले १९५० यता हासिल गर्न सकेको थिएन । 

मिलान स्क्रिनियर र निकोलो बारेलाले पहिलो हाफमा घरेलु टोलीका लागि गोल थप्दै अग्रता ३-० ले फराकिलो पारे । 

मध्यान्तरपछि माटियास भेसिनोले एक गोल गरे भने जेकोले दुई गोल गर्दै इन्टरको पक्षमा फराकिलो जित पक्का गरे । पराजित बोलोग्नाका लागि समय सकिन चार मिनेट बाँकी रहँदा आर्थर थेयाटेले सान्त्वना गोल गरे । 

इटालियन सिरी ‘ए’मा गए राति नै भएको अर्को खेलमा एट्लान्टाले सालेमिटानामाथि १-० को जित हासिल गर्यो । एट्लान्टाको जितमा समय सकिन १५ मिनेट बाँकी रहँदा डुभान जापाटाले गरेको एउटै गोल पर्याप्त भयो । 

गए रातिका नतिजापछि चार खेलमा १० अंक बटुल्दै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । तथापि समान नौं अंकका साथ दोस्रो, तेस्रो तथा चौथो स्थानमा रहेका एएस रोमा, एसी मिलान र नेपोलीले तीन खेलमात्र खेलेका छन् ।