मानेले सयौं गोल गरेको खेलमा लिभरपुलको सहज जित, सिटी बराबरीमा रोकियो

लन्डन, (खेलाडी)- साडियो माने, मोहम्मद सालाह र नाबी केइटाको गोलमा लिभरपुलले शनिबार राति इङ्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३-० को जित हासिल गरेको छ । 

घरेलु एन्फिल्डको मैदानमा भएको खेलमा लिभरपुलले मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा मानेले टोलीका लागि एक सयौं गोल गर्दै दिलाएको अग्रतामा सालाहले समय सकिन १२ मिनेट बाँकी रहँदा गोल थपेका थिए । सालाहले भर्जिल भान डाइकको पासलाई गोलमा परिणत गरेका थिए । 

केइटाले समय सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल गरेपछि योर्गान क्लोपको टोली फराकिलो जितको हकदार बन्यो ।

शनिबारको जितसँगै लिभरपुल पाँच खेलमा १३ अंकका साथ शीर्ष स्थानमा एकल पकड बनाउन सफल भएको छ । 

नौं अंकका साथ खेल सुरु गरेको म्यानचेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिँयो । 

आर्सनलले जितको क्रमलाई निरन्तरता दिने क्रममा बर्नलीमाथि १-० को जित हासिल गर्यो । बर्नली भ्रमणमा आर्सनललाई जित दिलाउन ३०औं मिनेटमा मार्टिन ओडेगार्डले गरेको गोल पर्याप्त भयो । 

प्रिमियर लिगमा शनिबारै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई ३-१ को नतिजामा हरायो । 

नर्विच भ्रमणमा इमानुयल डेनिसको गोलमा १७औं मिनेटमा वाट्फोर्डले अग्रता लिएको थियो । तर ३५औं मिनेटमा टिमु पुक्कीले नर्विचका लागि बराबरी गोल गरे । 

दोस्रो हाफमा दुई गोल गर्दै वाट्फोर्डले तीन अंक पक्का गर्यो । भ्रमणकारी टोलीका लागि इस्माइला सारले ६३ र ८२औं मिनेटमा गरी दुई गोल गरेका थिए ।