फुटबल
ब्रुसमाथि बढ्दो दबाब
लन्डन, (खेलाडी)– एलान सेन्ट–म्याक्सिमिनको गोलमा लिड्स युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाढेपनि न्युक्यासल युनाइटेडका प्रशिक्षकका स्टिभ ब्रुसमाथिको दबाब हट्ने सम्भावना कम बनेको छ ।
इङलिस प्रिमियर लिगमा पाँच खेलमा मात्र दुई अंक जोडेपछि प्रशिक्षक ब्रुसमाथि दबाब बढेको हो ।
गत साता म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि समर्थकले उनको चर्को आलोचना गरेका थिए । लिड्ससँगको बराबरीपछि उनलाई आफ्नो पद जोगाउनै कठिन हुने देखिएको छ । खेल अघि नै समर्थकले ब्रुसलाई तल्काल बर्खास्त गर्नेु पर्ने भन्दै नारा लगाएका थिए ।
१३ औं मिनेटमा राफिन्हाको गोलमा लिड्सले अग्रता लिएको थियो । मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा एलानले न्युक्यासलाई खेलमा फर्काएका थिए ।
लिड्स तीन अंकका साथ १५ औं स्थानमा छ । न्युक्यासल र लिड्सले अझै पनि लिगको पहिलो जितको स्वाद चाख्न पाएका छैनन ।