अन्तिम समयमा गोल खाएपछि लेस्टर बराबरीमा सीमित

लन्डन, (खेलाडी)- दुई गोलको अग्रता जोगाउन नसक्दा नेपोलीसँग अंक बाढ्न बाध्य भएपछि लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले आफ्नो युवा टोलीले ठूलो पाठ सिक्ने बताएका छन् ।

युरोपा लिग अन्तर्गत समूह ‘सी’मा बिहीबार राति लेस्टर घरेलु किंग्स पावर रंगशालामा नेपोलीसँग २-२ को बराबरीमा रोकिएको थियो ।

नवौ मिनेटमा एन्जो परेजले गरेको गोलमा लेस्टरले अग्रता लिएको थियो । ६४औं मिनेटमा हार्भे बार्नसले गोल गरेपछि घरेलु टोली अग्रता दोब्बर पार्न सफल भयो । 

तर भिक्टर ओसिमहेनले दुई गोल फर्काउँदै नेपोलीलाई अवे बराबरीसहित युरोपा लिगको सुरुआत दिलाए । ६९औं मिनेटमा ओसिमहेनले नेपोलीका लागि गोल गर्दै पुनरागमनको आधार बनाएका थिए । जहाँ उनले समय सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो गोल गरेर लेस्टरसँग एक अंक खोसे । 

'दुई गोलको अग्रता जोगाउन नसक्नु गल्ती होइन । तर, त्यहाँबाट पाठ नसिक्नु चाँही गल्ती हो,' रोजर्सले भने, 'मलाई आशा छ, मेरा युवा खेलाडीले आज नेपोलीविरुद्धको खेलबाट ठूलो ज्ञान लिए ।'

समूह ‘सी’ मै बिहीबार भएको अर्को खेलमा लेजिया वार्सजावाले स्पार्टक मस्कोलाई १-० को नतिजामा हरायो ।