फिफा वरियतामा नेपालको स्थान यथावत

काठमाडौं, (खेलाडी)- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको स्थान यथावत रहेको छ । 

वरियतामा नेपाल एक सय ६८औं स्थानमा छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा दक्षिण एसियामा भारत सबैभन्दा अघि छ । भारत वरियताको एक सय सातौं स्थानमा छ । त्यस्तै एक सय ५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

यसैगरी नेपाल तेस्रो, एक सय ८७ स्थानमा रहेको भुटान चौथो, एक सय ८९ स्थानमा रहेको बंगलादेश पाँचौ, एक सय ९८ स्थानमा रहेको पाकिस्तान छैटौं र दुई सय पाँचौं स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ । पाकिस्तान फुटबल संघ फिफाबाट निलम्बनमा रहे पनि वरियतामा भने समावेश छ । 

वरियताको शीर्ष स्थानमा बेल्जियम र दोस्रो स्थानमा ब्राजिल यथावत छन् । यसैगरी वरियताको तेस्रो स्थानमा इङ्ल्यान्ड, चौथो स्थानमा फ्रान्स, पाँचौं स्थानमा इटाली, छैटौं स्थानमा अर्जेन्टिना, सातौं स्थानमा पोर्चुगल, आठौं स्थानमा स्पेन, नवौं स्थानमा मेक्सिको र १०औं स्थानमा डेनमार्क छ ।