समर्थकलाई निराश नहुन लापोर्टाको आग्रह

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबका समर्थकलाई निराश नहुन आग्रह गरेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत समूह 'इ'को पहिलो खेलमा बार्सिलोना मंगलबार बायर्न म्युनिखसँग ३-० ले पराजित भएको थियो । सो हारपछि बार्सिलोनाका अध्यक्ष लापोर्टाले आफूले क्लबको सुरुआत कठिन हुने पहिल्यै अनुमान गरेको बताउदै समर्थकहरुलाई धैर्य राख्न आग्रह गरे ।

‘तपाईहरु जस्तै म पनि निक्कै निराश छु । म के बताउन चाहन्छु भने हामीले पहिले नै यस्तो अवस्थाको कल्पना गरिसकेका थियौं,' लापोर्टाले भने, 'म सबै समर्थकहरुलाई धैर्य अपनाउन र क्लबमाथिको समर्थनलाई निरन्तरता दिइरहन आग्रह गर्न चाहन्छु ।'

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको बर्हिगमनपछि बार्सिलोनाको यो पहिलो हार हो । बायर्नसँग निरिह देखिएको बार्सिलोनाले विपक्षी पोस्टमाा एउटा पनि आक्रमण गर्न सकेको थिएन ।