लिभरपुलको जित, एट्लेटिको र पोर्टोको बराबरी

लन्डन, (खेलाडी)- जोर्डन हेन्डरसनको निर्णायक गोलमा लिभरपुलले बुधबार राति एसी मिलानमाथि विजय हासिल गर्दै नयाँ सिजनको च्याम्पियन्स लिगमा सुखद सुरुआत गरेको छ ।

च्याम्पियन्स लिग समूह ‘बी’अन्तर्गत घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालियन सिरी ‘ए’को क्लब मिलानमाथि ३-२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । 

नवौ मिनेटमा मिलानका फिकायो टोमोरीले आत्मघाती गोल गर्दा लिभरपुलले अगता लिएको थियो । १४औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । मोहम्मद सालाहले पेनाल्टी खेर फाल्दा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।

पहिलो हाफको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै मिलानले खेलको अवस्था उल्ट्याएको थियो । ४२औं मिनेटमा एन्टे रेविचले मिलानलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै ब्राहिम डियाजले बललाई जाली चुमाउदै मिलानलाई २-१ को अग्रता दिलाएका थिए ।

सालाहले पेनाल्टीमा गोल गर्न नसक्नाको सोधभर्ना गर्दै ४९मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरे । ६९औं मिनेटमा हेन्डरसनले गरेको गोल लिभरपुललाई च्याम्यिन्स लिगमा सुखद सुरुआत गर्न पर्याप्त बन्यो ।

समूह ‘बी’ अन्तर्गत बुधबारै भएको अर्को खेलमा एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोलरहित बराबरी खेले ।