नौ गोलको वर्षा भएको खेलमा लिपजिगमाथि म्यानचेस्टर सिटीको रवाफ

म्यानचेस्टर, (खेलाडी)- ज्याक ग्रिलिसले गोलका साथ युरोपियन प्रतियोगितामा डेब्यु गरेको बुधबारको दिन उनको टोली म्यानचेस्टर सिटीले घरेलु इत्तिहाद रंगशालामा आरबी लिपजिगमाथि ६-३ को सनसनीपूर्ण जित हासिल गरेको छ ।

सिटीले कीर्तिमानी मुल्यमा भित्र्याएका ग्रिलिसले पहिलो युरोपियन खेललाई स्मरणीय बनाउने क्रममा आफै एक गोल गर्नुका साथै नाथान एकेलाई गोलका लागि अवसर सिर्जना गरेका थिए । 

गत सिजनको फाइनलमा चेल्सीसँग पराजित भएपछि च्याम्पियन्स लिगमा पहिलो पटक मैदान उत्रिएको सिटीले समूह ‘ए’मा सुखद सुरुआत गरेको दिन एके र ग्रिलिसको गोलको बीचमा विपक्षी टोलीका नोर्डी मुकिलेले एउटा आत्मघाति गोलको उपहार  दिएका थिए भने क्रिस्टोफर एनकुन्कुले एक गोल गरेका थिए । 

एकेले १६औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । त्यसको १८ मिनेटपछि मुकिलेले आत्मघाति गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । तर पहिलो हाफमै पुनरागमनको प्रयासस्वरुप ४२औं मिनेटमा एनकुन्कुले लिपजिगका लागि एक गोल फर्काए । 

पहिलो हाफको इन्जुरी समयमा रियाद माहरेजले पेनाल्टीमा गोल गर्दै सिटीको दुई गोलको अग्रता पुनस्थापित गरे । तर गोलको र्याली चलेको खेलमा एन्कुन्कुले ५१औं मिनेटमा लिपजिगका लागि दोस्रो गोल गरे ।

रुबेन डियाजको पासमा ग्रिलिसले ५६औं मिनेटमा गोल गर्दै सिटीको अग्रता ४-२ ले फराकिलो पारे । अब गोल गर्ने पालो थियो, लिपजिग र एनकुन्कुको । ७३औं मिनेटमा एनकुन्कुले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । तर त्यसको दुई मिनेट नबित्दै जोआवो क्यान्सेलो तथा ८५औं मिनेटमा ग्याब्रियल जिससले सिटीका लागि गोल गरेर घरेलु टोलीको फराकिलो जित पक्का गरे । 

यसबीचमा समय सकिन ११ मिनेट बाँकी रहँदा एन्जेलिनोले दुई पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडेपछि लिपजिग १० खेलाडीमा सिमित भएको थियो । 

समूह ‘ए’ को गए राति नै सम्पन्न अर्को खेलमा लियोनेल मेसी, नेइमार र किलियन एमबाप्पेजस्ता सुपरस्टार फरवार्डको फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी) ले बेल्जियमको क्लब ब्रुगेसँग १-१ को बराबरीमा रोकिएको थियो ।