अर्जेन्टिना

अर्जेन्टिनाको अपराजित यात्रा कायमै

अबुधाबी । अर्जेन्टिनाले बुधबार मैत्रीपूर्ण खेलमा युएईमाथि ५-० को सहज जित निकालेको छ । 

युएईमाथिको जितसँगै अर्जेन्टिनाले विश्वकप आफू लयमा रहेको संकेत गरेको छ । कतार विश्वकप २०२२ आइतबारबाट सुरु हुँदैछ । 

खेलको सुरुआतबाटै युएईमाथि हाबी भएको अर्जेन्टिनाले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो । अर्जेन्टिनाको सहज जितमा एन्जेल डी मारियाले दुई तथा कप्तान लियोनल मेसी, युलियन अल्भारेज  र कोरियाले समान एक गोल गरे । 

अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३६ खेल सम्म कायम राखेको छ । लियानल स्कोलोनीको प्रशिक्षणमा अर्जेन्टिना २०१९ कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २–० ले हारेको थियो । त्यसयता भने अर्जेन्टिना अपराजित रहँदै आएको छ ।

कतार विश्वकपमा अर्जेन्टिनाले मंसिर ६ गते साउदी अरेबिया विरुद्द आफ्नो पहिलो खेल खेल्दैछ । अर्जेन्टिनाले दोस्रो खेलमा मंसिर १० मा मेक्सिको र तेस्रो खेलमा मंसिर १४ मा पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।