नेपाली फुटबल

अञ्जनको गोलमा नेपालको जित

काठमाडौं । स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलमा नेपालले बुधबार मैत्रीपूर्ण खेलमा  पाकिस्तानमाथि १-० को जित निकालेको छ ।

८३औं मिनेटमा अञ्जनले सुनिल बलको पासमा गरेको गोल नेपालको जितमा पर्याप्त भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टोलीले पहिलो हाफमा पाएका गोलका केही अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा सकिएको थियो ।

राष्ट्रिय टोलीका लागि उनको यो ११ औं गोल हो ।  असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३-१ को जित निकालेको थियो ।

अञ्जन हरी खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानसँग बराबरी गर्न मात्र २ गोलले पछि छन् ।

पाकिस्तान यसै खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो  नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५०औं अन्तर्राष्ट्रिय खेल हो ।