नेपाल पाकिस्तान मैत्रीपूर्ण खेल

नेपाललाई पाकिस्तानको चुनौती पन्छ्याउने अवसर

काठमाडौं । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । 

शारीरिक रुपमा निकै माथि रहेको पाकिस्तान आज साझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमनको लक्ष्यमा रहेको छ । 

तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तानविरुद्ध सुखद नतिजा निकाल्ने नेपालका लागि यो सबै भन्दा सुनौलो मौका हो । लामो समय पछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागन गर्न लागेको पाकिस्तानको लक्ष्य आफ्नो उपस्थिती जनाउने मात्रै रहेको छ । 

नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ मा साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४-१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो । 

नेपालले गत महिना दशरथ रंगशालामै बंगलदेशविरुद्ध अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको थियो । अञ्जन विष्टको ह्याट्रिकप्रेरित नेपालले सो खेल ३-१ ले जितेको थियो । 
सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दैैै कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन । उनको अनुपस्थितीमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् । गोलकिपर किरणको अनुपस्थितीमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।

बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १० पुर्याएका अञ्जनका लागि सो गोल संख्या बढाउने यो सुनौलो अवसर हो । हरी खड्का र निराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ ।

दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तर्राष्ट्र्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।