पोर्चुगल

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित छुः रोनाल्डो

लन्डन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफूले हालै दिएको अन्तरवार्तालाई लिएर पक्ष र विपक्षमा भैरहेको चर्चा भन्दा पनि आफू कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्नमा केन्द्रित रहेको बताएका छन् । 

रोनाल्डोले एक टेलिभिजनलाई दिएको अन्र्तरवार्ताका क्रममा म्यानचेस्टर युनाइटेडका उच्च पदाधिकारी र प्रशिक्षक इरिक टेन हाग आफूले ओल्ड ट्राफोर्ड छोडोस् भन्ने चाहानामा रहेको खुलासा गरेका थिए । उनको प्रतिक्रिया लगत्तै उनको पक्ष र विपक्षमा अवाज उठिरहेको छ ।

पाँच पटकका बालोन डी अर विजेता रोनाल्डोले प्रशिक्षक टेन हागसहित पूर्व प्रशिक्षक राल्फ रागनिक र केही क्लब पदाधिकारीको आलोचना गरेका थिए । उनले आफूलाई उनीहरुले धोका दिएको र उचित सम्मान नदिएको दाबी गरेका थिए ।

युनाइटेडले भने एक विज्ञप्क्ति जारी गर्दै रोनाल्डोको भनाईको बारेमा अनुसन्धान हुने र पूर्ण अध्ययनपछि मात्र थप कदम चाल्ने बताएको छ ।

समूह एच मा रहेको पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्धको खेलसँगै कतार विश्वकपमा आफ्नो यात्राको थालनी गर्नेछ । समूह एच मा पोर्चुगल र घानासहित उरुग्वे र दक्षिण कोरियासमेत रहेको छ 

‘म अहिले राष्ट्रिय टोलीसँग प्रशिक्षणमा छु’,रोनाल्डोले भने, ‘त्यसैले बाहिर के हल्ला चलेको छ भन्दा पनि कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्नेमा केन्द्रित छु ।’