कतार विश्वकप

मानेले विश्वकप खेल्नेमा दुबिधा

बर्लिन । कतार विश्वकप सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा सेनेगलका कप्तान साडियो माने घाइते भएका छन् ।

मंगलबार जर्मन बुन्डेसलिगाअन्तर्गत वेडर ब्रेमनमाथि ६-१ को जित निकालेको खेलमा माने पहिलो हाफमा घाइते भएका हुन् ।

मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । 
२०औं मिनेटमा माने घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका थिए । 

सेनेगलले १३ दिनपछि कतार विश्वकपको पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । मानेले खेल्नेमा भने दुबिधा बढेको छ ।

माने दुई पटकका अफ्रिकन वर्ष खेलाडी भएका थिए । यसै वर्ष सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो ।