इन्जाघीको दुई सयौं खेलमा इन्टरको निराशाजनक बराबरी

रोम, (खेलाडी)- प्रशिक्षकका रुपमा सिमोन इन्जाघीको दुई सयौं खेलमा आइतबार इन्टर मिलानले दुई पटकसम्म अग्रता लिए पनि साम्पडोरियामा २-२ को निराशाजनक बराबरी नतिजा निकालेको छ । 

फेडेरिको डिमार्कोले १८औं मिनेटमा गोल गर्दै दिलाएको इन्टरको अग्रता घरेलु टोलीका माया योशिदाले ३२औं मिनेटमा बराबरीमा ल्याए । 

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा निकोलो बारेलाको पासमा गोल गर्दै लाउटारो मार्टिनेजले इन्टरलाई दोस्रो पटक अग्रता दिलाए । तर दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै टोमासो औगेलोले साम्डोरियालाई दोस्रो पटक बराबरीमा ल्याए । 

बरबरीमा सिमित भएपछि साविक विजेता इन्टरको नयाँ सिजनको तेस्रो खेलमा आइपुग्दा सतप्रतिसत नतिजायात्रामा पूर्णविराम लाग्यो । टोली सात अंकका साथ इटालियन सिरी ‘ए’अंकतालिकाको दोस्रो स्थानमा सिमित भएको छ । अघिल्लो दिन युभेन्टसमाथि २१ को जित हासिल गरेको नेपोली नौं अंकका साथ शीर्ष स्थानमा छ । 

जेजर सामार्जिकले समय सकिन एक मिनेट बाँकी रहँदा गरेको गोलमा नवप्रवेश स्पेजियामाथि १-० को विजयी नतिजा निकालेको युडिनेसीको खातामा पनि सात अंक छ । तर टोली गोलअन्तरमा पछि रहेका कारण तेस्रो स्थानमा छ । 

इटालियन सिरी ‘ए’मा आइतबार राति नै सम्पन्न अन्य खेलमा जिनुवाले काग्लियारीमाथि ३-२ को जित हासिल गर्दा टोरिनोले सेलेमिटानालाई ४-० ले हरायो ।