इङ्लिस प्रिमियर लिग

शीर्ष चारको सम्भावना कायम राख्दै लिभरपुल

लन्डन । टोटनहममाथि २-१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको सम्भावना कायमै राखेको छ ।

११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो । यद्धपी लिभरपुलले टोटनहमभन्दा १ खेल कम खेलेको छ । 

योर्गान क्लोपको टोलीले जारी सिजन स्वभाविक प्रदर्शन गर्न सकिरहेको छैन । जारी सिजन प्रिमियर लिगमा लिभरपुलले निकालेको यो पहिलो अवे जित हो ।

आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३-१ को सहज जित निकालेको छ ।