कतार विश्वकप २०२२

कतार विश्वकप २०२२ नै मेरा लागि अन्तिमः मेसी

पेरिस । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप नै आफ्ना लागि अन्तिम विश्वकप हुने पुष्टी गरेका छन् । 

मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष लामो समयदेखीको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा कोपा अमेरिकको उपाधि जितेको थियो । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा अर्जेन्टिना फाइनलमा प्रवेश गरे पनि जर्मनीसँग १-० ले निराश भएपछि उपाधि जित्ने लक्ष्यले पूर्णता पाएको थिएन । सन् २०१८ मा भने अर्जेन्टिना अन्तिम १६ मा  फ्रान्ससँग निराश भएको थियो ।

कतार विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा बस्दै कतार विश्वकप टिकट काटेको थियो । 

‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो'',सात पटकका बलोन डी अर विजेता मेसीले भने,अर्जेन्टिनालाई सधैं विश्वकपमा उपाधि दाबेदार टोलीको रुपमा लिइन्छ । सम्भवत हाम्रो इतिहासले पनि हामीलाई उपाधि दाबेदारको रुपमा उभ्याइरहेको होला । हामी क्षमतावान टोली हौ र यस पटक पनि टोलीको दाबेदार छबीमा कुनै कमी आउने दिने छैनौ । अन्य टोली पनि बलियो छन् । '

‘अहिले हामी उच्च लयमा छौ । विश्वकप हो, कुनै पनि प्रतिद्धन्द्धी सहज हुँदैन। समूह चरणको पहिलो खेल नै कठिन हुन्छ’, मेसीले भने,'दाबेदार मानिएको टोलीले सधै उपाधि जित्छ भन्ने छैन । हामी उपाधि जित्न चाहन्छौ र त्यसका लागि पूर्ण रुपमा तयारी गरेका छौ ।'

समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकपको यात्राको थालनी गर्नेछ ।

मेसीले आफ्नो अन्तिम विश्वकप सहभागिता यादगार बनाउन चाहेको समेत बताए ।

‘म अहिले शारीरिक रुपमा फिट छु’,उनले भने, ‘म क्लबमा पनि स्वभाविक लयमा छु । गत वर्ष मैले चोटका कारण राष्ट्रिय टोलीबाट केही खेल गुमाए । तर यस वर्ष म पूर्ण रुपमा फिट छु । त्यसैले टोलीलाई सफलता दिलाउँदै कतार विश्वकप यात्रालाई यादगार बनाउन चाहन्छु । ’

सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकप उनको पहिलो विश्वकप सहभागिता थियो । उनी सन् २०१०, २०१४ र २०१८ को विश्वकपमा अर्जेन्टिनाका प्रमुख खेलाडी थिए ।

समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकपको यात्राको थालनी गर्नेछ । समूह ‘सी’ मा अर्जेन्टिना र साउदी अरेबियासँगै मेक्सिको र पोल्यान्ड रहेका छन् ।