युरोपा लिग

आर्सनल शीर्ष स्थानमा

लन्डन । इडी एनकेइटा, रोब होल्डिङ र फाबियो भिइराको समान एक गोलमा आर्सनल बिहीबार बुड ग्लिम्टलाई ३–० ले हराउँदै युरोपा लिगको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

इङलिस प्रिमियर लिगको शीर्ष क्लब आर्सनल इमिरेटस् स्टेडिमयमा बुड ग्लिम्टविरुद्ध खेलको सुरुआतबाटै आक्रामक बनेको थियो ।

२३औं एनकेइटाको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै होल्ल्डिङले आर्सनलको अग्रता दोेब्बर पारेका थिए । 
खेल सकिन ६ मिनेट बाँकी रहँदा भिइराले आर्सनलका लागि तेस्रो गोल गरेका थिए ।

आर्सनल समूह ‘ए’ मा दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको पिएसभी इन्डहोवेन भन्दा मात्र दुई अंक बढी हो । तेस्रो स्थानको बुड ग्लिम्टको पनि चार अंक छ भने चौथो स्थानको एफसी ज्युरिचले अंक खाता खोल्न सकेको छैन ।

समूह ‘ए’ कै अर्कोे खेलमा समूह चरणको पहिलो जित निकाल्ने क्रममा इन्डहोवेनले एफसी ज्युरिचलाई ५-१ ले हरायो ।